९ चैत ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले विश्वभर फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९)बाट बच्न आमश्रमजीवी मजदुरहरुलाई सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ ।
आइतबार महासंघले जारी गरेको प्रेस वक्तव्यमा सरकारले घोषणा गरेको विदा अवधिभर महासंघका सबै सांगठनिक काम स्थगित गरिएको भन्दै अत्यावश्यक काममा बाहेक घर बाहिर हिँडडुल नगर्न समेत आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संकटको यस घडीमा विशेष अवस्था सिर्जना उत्पन्न भएको भन्दै महासंघले श्रमजीवी मजदुरका सवालमा रोजगारदाता र सरकारले श्रमिकलाई विशेष व्यवस्था गर्नु पर्ने प्रेस वक्तव्य उल्लेख गरेको छ ।
यस्तै सरकारले आम श्रमिकहरूका दैनिक जीवनयापन र आधारभूत आवश्यकता परिपूर्ति गर्न साथै आम नागरिकको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गर्नुपर्नेमा महासंघले जोड दिएको छ ।
महासंघले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “बिना छलफल बन्द गरिएका औधोगिक प्रतिष्ठानहरूका मजदुरहरूलाई नियमित पारिश्रमिक दिन र जहाँ बन्द नगरिकन काममा लगाइरहेको अवस्था छ, त्यहाँ कार्यरत श्रमिकहरूको स्वास्थ्य सुरक्षाको पूर्ण ग्यारेन्टी गर्न साथै अत्यावश्यक क्षेत्रमा कार्यरत मजदुरहरूको स्वास्थ्य सुरक्षा र बिमाको समेत सुनिश्चित गर्न र विदा अवधिभरका तलब सुविधा कटौती नगर्न सरकार र रोजगारदातालाई आग्रह गर्दै माहामारीले उत्पन्न यस विशेष अवस्थामा विशेष राहतको व्यवस्था गरियोस् ।”