विदेशबाट अवकाश सुविधा पाइरहेका व्यक्तिहरूले सामाजिक सुरक्षा भत्ता पाउने

२७ मंसिर ०७७, काठमाडौं । सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेशमार्फत ऐनको दफा १५ को (ग) मा नियमित रुपले पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था खारेज गरेको छ ।

यसको खारेजीसँगै बेलायत, भारतीय सेना साथै सिंगापुर प्रहरीमा काम गरेर आवकाश पाई निवृत्तिभरण लिइरहेका व्यक्तिहरूले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।

सामाजिक सुरक्षा ऐन, २०७५ को दफा १५ को (ग) मा टेकेर गत १७ असारमा विदेशी सरकारबाट नियमितरुपले निवृत्तिभरण प्राप्त गरिरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता बन्द गर्ने गृह मन्त्रालयको परिपत्रपछि स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता दिन बन्द गरेका थिए ।

भत्ता बन्द भएसँगै उनीहरुले विदेशमा आफूहरूले गरेको सेवा गरेवापत नेपाल सरकारले ठूलो परिमाणमा रेमिट्यान्स पाइरहेको र सामाजिक भत्ता नपाउँदा आफूहरूमाथि अनागरिकको व्यवहार भएको बताइरहेका थिए ।

यद्यपि, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाबाट पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा वा अन्य सुविधा पाइरहेका व्यक्तिहरूले भने सामाजिक सुरक्षा भत्ता पाउने छैनन् ।

त्यस्तै कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्ति, निर्वाचित वा मनोनित भई बहाल रहेका व्यक्तिले पनि यस्तो भत्ता लिन पाउने छैन् ।