विद्यादेवी भण्डारीलाई पुन: राष्ट्रपति उम्मेदवार बनाउने एमालेको निर्णय

२३ फागुन ०७४, काठमाडौं । नेकपा एमालेले पुन: विद्यादेवी भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मंगलबार  राति अबेरसम्म बसेको स्थायी कमिटी बैठकले दोस्रो कार्यकालका लागि भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको हो ।साँझ साढे ५ बजेदेखि झण्डै ७ घण्टासम्म बसेको बैठकले सर्वसम्मतरुपमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

वरिष्ठ नेता एमाले उपाध्यक्ष बामदेव गौतमले राष्ट्रपतिका लागि झलनाथ खनालको नाम चर्चामा रहेपनि वर्तमान राष्ट्रपतिलाई नै दोहोर्‍याउने निर्णय भएको  बताए ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले खनाललाई राष्ट्रपति बनाउनुपर्ने अडान अन्तिम समयसम्म राखेपछि निर्णय गर्न सकस परेको थियो।

भण्डारी यसअघि २०७२ साल कात्तिक ११ गते माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति निर्वाचित भएकी थिइन्। उनले नेपालको दोस्रो राष्ट्रपति र पहिलो महिला राष्ट्रपतिको इतिहास बनाएकी थिइन् ।

एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रबाट उम्मेदवार हुनेछन् । उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुनले नै निरन्तरता पाउँदैछन् ।

संघीय संसद र प्रदेशसभामा वाम गठबन्धनको स्पष्ट बहुमत भएकाले भण्डारी र पुनले दोस्रो कार्यकाल पनि निरन्तरता पाउने निश्चित छ ।

फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ ।

तपाइको मत