२८ असोज ०८१, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयको दिवा खाजामा दूधजन्य परिकार राख्न आवश्यक रहेको बताएका छन् ।
अर्घाखाँची दुग्ध उद्योगको सोमवार अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले स्थानीय दूध र दुग्धजन्य पदार्थको खपतका लागि विद्यालय तहको दिवा खाजामा दुग्धजन्य उत्पादनलाई समेट्ने गरी प्रदेश सरकारले सहजीकरण गर्ने बताए ।
‘प्रदेशको समृद्धिको आधार कृषि र पशुपालनलाई लिएका छौं, जस अन्तरगत दुग्धजन्य उत्पादनको बजारीकरणको लागि पनि सरकारले सहजीकरण गर्छ,’ मुख्यमन्त्री आचार्यले भने ।
उनले विद्यालय तहको दिवा खाजामा दुग्धजन्य उत्पादनका परिकार हप्ताको एक दिन दिनेगरी कार्यक्रम बनाउने गरी काम गर्ने बताए । ‘यसको सुरुवात अर्घाखाँचीबाट गरेर प्रदेशका १०९ पालिकामा पु¥याउछौं,’ उनले भने ।
अर्घखाँची दुग्ध उत्पादन तथा बिक्री वितरण सहकारी संस्थाले सञ्चालन गरेको दुग्ध उद्योगमा एक सय ५४ किसान आबद्ध छन् । त्यहाँ दैनिक एक हजार पाँच सयदेखि दुई हजार लिटर दूध संकलन हुदै आएको छ ।
उद्योगबाट दूधको प्रशोधन र बिक्री वितरण गरिंदै आएको र हाल दूधको बिक्री वितरणमा समस्या परेको सहकारी संस्थाका अध्यक्ष चन्द्रप्रसाद बञ्जाडेले जानकारी दिए ।
किसानले उत्पादन गर्ने दूधको सहज बजारीकरणमा तीन तहकै सरकारले सहयोग गर्नुपर्ने उनको माग छ ।
विद्यालयको दिवा खाजा कार्यक्रममा दुग्धजन्य पदार्थ अनिवार्य समावेश गर्ने नीति सरकारले लिएको खण्डमा बजारीकरणमा देखिएको समस्या केही हदसम्म समाधान हुने र विद्यार्थीको स्वास्थ्य तथा पोषणमा पनि सुधार आउने उनले बताए ।