विद्यालय भर्ना अभियानमा सहयोग गर्न मन्त्री पोखरेलको आग्रह

३० चैत्र ०७४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कलाकारहरुलाई  ‘विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान’ मा साथ दिन आग्रह गरेका छन् ।

काठमाडौमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण सम्बन्धमा मन्त्रालयले कलाकारहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले अबको शिक्षा विज्ञान प्रविधि अनुसार हुने भएकाले विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानमा साथ दिन आग्रह गरेका हुन् ।

मन्त्री पोखरेलले कलाकारले विभिन्न क्षेत्रमा सन्देश प्रभाह गरिरहेको हुँदा विद्यालय भर्ना अभियानमा पनि साथ दिन आग्रह गरेका छन् ।

माग्ने बुढाले मन्त्री समक्ष विद्यालय भर्नाको उमेर कटेका १३-१४ वर्षका बालबालिकालाई अध्ययन गराउनको लागि छुट्टै विद्यालय हुनुपर्ने बताउँदै शिक्षा मन्त्रालयको विद्यार्थी भर्ना अभियानमा आफूले सक्दो सहयोग गर्ने र त्यो काम निःशुल्क हुने पनि बताएका छन् ।

यस्तै, सीताराम कट्टेल धुर्मुसले आफूले अहिलेसम्म निर्माण गरेको नमुना बस्तीका बालबालिकालाई विद्यालय पठाउँदै आइरहेको बताए ।

‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाईमा स्थायित्व’ भन्ने मूल नाराका साथ यो वर्षको विद्यालय भर्ना अभियान २०७५ को नयाँ शैक्षिक सत्र बैशाख २ गतेबाट ‘विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान’ सञ्चालन गरिँदैछ ।

विद्यालय भर्ना हुने बालबालिकाको लागि आवश्यक पर्ने पाठ्यपुस्तक भर्ना हुँदाका बखत नै उपलब्ध गराउने गरी स्थानीय सरकारमार्फत विद्यालयहरुमा २ अर्ब २२ करोड २२ लाख अनुदान रकम उपलब्ध गराइसकेको मन्त्रालयले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा कलाकार मनोज गजुरेल, सीताराम कट्टेल (धुर्मुस) केदार घिमिरे माग्ने (बुढा) लगायतका कलाकारले सरकारको अभियानमा पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तपाइको मत