१५ बैशाख ०७७, काठमाडौं । सत्तारुढ दलनिकट अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले विद्यामान ऐन, नियम कार्यान्वयन नगरेको भन्दै सरकारको कटाक्ष गरेका छन् ।
सरकारले आफू मातहतका विभिन्न संस्थान फार्महरुमा कार्यरत मजदुरहरुलाई कानुनअनुसार तलब, भत्ता, सेवा सुविधा नदिएको भन्दै अध्यक्ष सिम्खडाले सरकारको आलोचना गरेका हुन् ।
सरकारले ल्याएको ऐन, नियम र गरेका निर्णयहरु आफू मातहतकै संस्थान, फार्महरुमा काम गर्ने श्रमिकहरुलाई नै कार्यान्वयन नगरेपछि सरकारको मजदुरलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारप्रति गम्भीर प्रश्न उठेको उनले बताए ।
“मन्त्रालय र मातहतका निकायमा काम गर्ने अस्थायी, करार, दैनिक ज्यालादारी कर्मचारीहरुलाई नै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षामा सूचीकृत गरेको छैन” उनले भने, यतिबेला “बागबानी, पोखराको मालेपाटन, लुम्ले, ललितपुरको खुमलटार, सर्लाही लगायत देशैभरका कृषि फार्ममा काम गर्ने श्रमिकहरुले चैत्र महिनाको पूरा तलब पाएको छैन्, सरकारले दिनुपर्दछ कि पर्दैन् ?”
उनले कोरोना भाइरस (कोभिड–१९)ले देश आक्रान्त भइरहेका बेला मजदुरहरुलाई नियमित काममा लगाएको सरकारले नै सबैभन्दा पहिले ऐन, नियमको पूर्ण कार्यान्वयन गर्नुपर्ने सुझाएका छन् ।
यस्तै दूरसञ्चार, विद्युत प्राधिकरण, नेपाल एयरलायन्स, नागरिक उड्डयन प्राधिकरण विशेषतः सरकारको मन्त्रालय र संस्थानमै कार्यरत श्रमिकहरु आधारभूत सेवा सुविधाबाट वञ्चित रहेको बताउँदै अध्यक्ष सिम्खडाले भने, “विधिको शासन सरकारले आफैँबाट सुरु गर्नुपर्दछ ।”