३ पौष ०७६, काठमाडौं । नेकपा (माले)का महासचिव सिपी मैनालीले नेत्रवीक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर राजनीतिक समाधान नहुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘देशको वर्तमान परिस्थिति र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव मैनालीले देशभक्त शक्तिहरुलाई जबर्जस्त बिद्रोहमा धकेल्दा देश थप संकटमा जाने चिन्ता व्यक्त गरेका हुन् ।
उनले नेकपालाई शान्तिपूर्ण राजनीतिक गतिविधि समेत गर्न पाउने अधिकारबाट च्यूत गरेर बिद्रोहको बाटो अबलम्बन गर्न प्रेरित गर्नु गलत भएको धारणा राखे ।
संविधान, कानूनलाई नाघेर गरिएको सरकारी प्रतिबन्ध अनुचित भएको आरोप लगाउँदै मैनालीले भने, “यति धेरै कानून र सुरक्षा हुँदा हुँदै पनि प्रतिबन्धले विप्लवसँग सरकारले द्वन्द निम्त्यायो जुन देश, जनताले थेग्न सक्दैन र कसैले पनि रुचाएको छैन् ।”
महासचिब मैनालीले अहिलेसम्म विप्लवले विदेशी शक्तिसँग सहयोग नलिने प्रतिबद्धता जाहेर गरे पनि भविष्यमा उसले त्यसलाई तोड्न सक्ने खतरासमेत व्यक्त गर्दै भने, “मलाई डर लाग्दैछ, नेपालको विगतको इतिहास साक्षी छ, विप्लवले मर्ता क्या कर्ता नहीँ भने जस्तै आफूलाई जोगाउन विदेशीको सहयोग लिएर थप संकट ननिम्त्याउलान भन्ने के ग्यारेन्टी ?”
“विप्लवले बिद्रोहको बाटो त्याग्ने र सरकारले अनुदार नीति त्यागेर राष्ट्रिय एकता कायम गर्नु पर्छ” महासचिव मैनालीले भने ।
यसैगरी इतिहास एवं सीमाविद्, डा.शास्त्रद्वत्त पन्तले शासन सत्ताको बागडोर सम्हालेका र उच्च अहोदामा आसिन व्यक्तिहरु आफ्नो देशको विरासतपूर्ण इतिहासबारे गहिरो अध्ययन नगरी राजनीतिमा लगेकाले देश विगतभन्दा निकै जर्जर भएको आरोप लगाए ।
डा.पन्तले पूखाहरुले अज्र्याको नेपाली भूमिको गौरवशाली पहिचान र मर्मको गाम्भीर्यता नबुझी सत्तासीनहरु जे मन लाग्यो त्यही गरिरहेको आरोप लगाए ।
नेताहरुमा इमान्दारिता, विद्वता, देशप्रति बफादार नरहेको भन्दै उनले भने, “एमसीसी लगायतका राष्ट्रघाती सम्झौताको बिरोधमा सडक तताउने बेला आएको छ ।”
यस्तै नेपाल बौदिक मन्चका अध्यक्ष डा.केबी रोकायले देशलाई अफगानिस्तान बनाउने रणनीतिमा सरकार अघि बढिरहेको भन्दै त्यस किसिमको खतरालाई रोक्नु पर्ने बताए ।
देशमा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको चलखेल बढिरहेको भन्दै रोकायले चीन र अमेरिकाको हस्तक्षेपले त्यस्तै संकेत देखाएको बताए ।
त्यसैगरी प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले नेपाल विदेशी शक्तिहरुको सैन्य अखडा र रणमैदान बन्ने खतरा रहेको संकेत गरे ।
इन्डो प्यासिफीक रणनीति र एमसीसी कुनैपनि हालतमा रोक्नुपर्ने बताउँदै कार्कीले भने, “देश बचाउनु पर्ने प्रधानमन्त्री र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउबा नै राष्ट्रघाती सम्झौताको पक्षमा उभिएकाले राष्ट्रवादी शक्तिहरु साथै जनता सडकमा उत्रनु पर्छ ।”
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष जन्मदेब जैशीले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्ने प्रयास भएको भन्दै सोका विरोधमा सरोकारवाला सबै एकजुट भएर मुकाबिला गर्नु पर्ने बताए ।
कार्यक्रममा आयोजक संस्था नेपाल पत्रकार तथा लेखक समाजका अध्यक्ष गोरखबहादुर बिसीले नेपाली समाजको रुपान्तरण जरुरी भएको र त्यसमा लेखक तथा पत्रकार बढी नै जिम्मेवार बन्नु पर्ने धारण राखेको उक्त कार्यक्रमको अध्यक्षता धर्मसभा राष्ट्रिय मञ्चका अध्यक्ष विष्णुराज पाण्डेले गरेका थिए ।