विप्लव माओवादीले एकीकृत जनक्रान्तिका नाममा आर्थिक आतङ्क मच्चाए – खड्का

प्रचण्ड भन्छ – एजेण्डा माओवादीसँगै छ, यत्रो परिवर्तन माओवादीले नै ल्यायो तर चुनावमा भोट आउँदैन

६ भदौ ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  परिवर्तनको एजेण्डा माओवादीसँगै रहेको र परिवर्तन पनि माओवादीले नै ल्याएको भएपनि चुनावमा भोट भने माओवादीको पक्षमा नआएको बताएका छन् ।

मंगलबार नयाँ शक्ति नेपालका देवेन्द्र पौडेल नेतृत्वको समूहलाई पार्टीमा समाहित गराउने कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

आज डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका देवेन्द्र पौडेल लगायत प्रभावशाली नेताहरु माओवादी केन्द्रका समाहित भएका छन् ।

सो कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी धाराका सम्पूर्ण क्रान्तिकारी घटकहरु एक भए कुनै पनि शक्तिले माओवादीलाई हराउन नसक्ने बताए ।

‘एजेण्डा माओवादीसँगै छन्, यत्रो परिवर्तन माओवादीले नै ल्यायो, नेतृत्व पनि हामीसँगै छ । तर, चुनावमा भोट आउँदैन ।’ अध्यक्ष प्रचण्डले भने,  ‘यसको कारण खोज्न अन्त जानु पर्दैन, हामी माओवादी विभाजित भएकै कारण प्रतिक्रियावादीहरुले फाइदा लिए । अब माओवादी शक्तिहरु एक होऔं, कुनै पनि शक्तिले माओवादीलाई हराउन सक्दैन ।’

प्रचण्डले वैद्य, विप्लव र बाबुरामहरु पनि माओवादी केन्द्रमा फर्कन सुझाएका छन् ।

अध्यक्ष प्रचण्डले भने, ‘बाबुरामजीले केजरीवाल बनेर देखाउँछु भनेर जानु भो, विप्लवजी आफै प्रचण्ड बन्ने सपना देख्नुभो, वैद्यजी क्रान्ति गर्छु भनेर जानुभो । तर, उहाँहरु सबैको हालत हामीले देखिसकेका छौं । कसैले चाहेर प्रचण्ड हुने कुरा होइन । विज्ञानविरुद्ध जो जान्छ, त्यो सकिन्छ । त्यसैले वैद्यजी, बाबुरामजी र विप्लवजी पनि माओवादी केन्द्रमा फर्कनुको कुनै विकल्प छैन ।’

क्रान्तिकारीहरु विभाजित हुँदा प्रतिक्रियावादीलाई फाइदा

नयाँ शक्ति, ध्रुवीकरण अभियानका संयोजक देवेन्द्र पौडेलले क्रान्तिकारी शक्तिहरु विभाजित हुँदा प्रतिक्रियावादी शक्तिले फाइदा लिएको बताएका छन् । साथै, उनले परिवर्तन चाहने सबै शक्तिहरुको एकता आवश्यक रहेको बताए ।

‘हामी क्रान्तिकारी, परिवर्तनकारी शक्तिहरु विभाजित भयौं’ नेता पौडेलले भने, ‘त्यसको प्रतिक्रियावादीहरुले फाइदा उठाए । हामीले लडेर ल्याएको परिवर्तन उल्टाउने खतरा बढ्यो, हामीले बाबुरामजीलाई पनि एकतामा ल्याउने अन्तिमसम्म कोशिस गर्याैं । तर, उहाँ आउनु भएन, अनि हामी आयौं ।’

नयाँ शक्तिका नेताहरु परशुराम तामाङ, पासाङ शेर्पाले वर्गीय र जातीय मुद्धालाई वैज्ञानिक ढंगले समात्ने पार्टी माओवादी केन्द्र भएको र परिवर्तनको रक्षाका लागि सम्पूर्ण परिवर्तनकारी शक्तिहरु एक हुनुपर्ने आवश्यकता महशुस गरी आफूहरु माओवादी केन्द्रमा ध्रुवीकृत भएको बताए ।

विप्लव माओवादीले एकीकृत जनक्रान्तिका नाममा आर्थिक आतंक मच्चाए

त्यस्तै विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका नेता गगन खड्का ‘जीवन’ले विप्लव माओवादीले एकीकृत जनक्रान्तिका नाममा आर्थिक आतंक मच्चाएको बताए ।

नेता खड्काले विप्लवको पार्टीमा क्रान्तिको कुनै पनि सोच नभएकाले आफूहरु माओवादी केन्द्रमा आएको बताए ।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लर्को

नयाँ शक्ति र विप्लव नेतृत्वको पार्टीबाट ६ सय बढी नेता कार्यकताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

धुर्वीकरण कार्यक्रममा नयाँ शक्ति नेपालका १६ जना केन्द्रीय सदस्य र २७० भन्दा बढी केन्द्रीय परिषद सदस्य माओवादी केन्द्रमा ध्रुवीकृत भएका छन् ।

त्यसैगरी गगन खड्का ‘जीवन’को नेतृत्वमा विप्लव माओवादीका ३५० जना नेता–कार्यकर्ता माओवादी केन्द्रमा ध्रुवीकृत भएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस लगायतका पार्टी परित्याग गरी दर्जनौं युवाहरु समेत माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

ध्रुवीकरणपछि एकतालाई तल्लो तहसम्म लैजान केन्द्र र प्रदेशस्तरमा एकता कार्यदल समेत गठन गरिएको छ ।

तपाइको मत