विशेष महाधिवेशनमा आफ्नो तर्फबाट त्याग गर्न तयार रहेको अनन्तको भनाई

११ असोज ०८२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले अब हुने पार्टीको विशेष महाधिवेशनमा आफू पद त्याग गर्न तयार रहेको बताएका छन् ।

केन्द्रीय समिति बैठक सकिएर बाहिरिनेक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै नेता पुनले यस्तो बताएका हुन् ।

नेता पुनले प्रचण्डपछि दोस्रो तहका नेताहरू आउनुप-यो भनेको खण्डमा आफूहरू अघि बढ्ने अन्यथा पद त्याग्न तयार रहेको बताउँदै भने, ‘अब हामी पद, प्रतिष्ठा छाड्न तयार छौं । तर, देश र व्यवस्था बच्नुपर्छ । यो हामी सबैको संकल्प हो ।’

‘कमरेड प्रचण्ड विशेष महाधिवेशनमा अध्यक्षको रुपमा रहनुहुन्नँ, उहाँ प्रतिस्पर्धामा नै आउनुहुन्नँ । उहाँले भनिसक्नुभएको छ, उहाँले प्रतिस्पर्धा नै गर्नुहुन्नँ,’ पुनले भने, ‘उहाँको भूमिका अलग होला, राजनीतिक अभिभावकको रुपमा रहनुहोला । तर, संगठनको रुपमा उहाँ अध्यक्ष बनेर प्रतिस्पर्धा गर्नुहुन्नँ ।’

उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा सबैले आत्मालोचना गरेको बताउँदै अब जनता, युवा, किसान, मजदुर र बुद्धिजिवीसँगै आफूहरू रहने बताए ।

नेता पुनले भने, ‘हामीले आत्मालोचना गरेका छौं । पार्टीको केन्द्रीय समितिलाई विघटन गरेका छौं । अब हामी सबै जनतासँगै हुन्छौं । युवा, किसान, मजदुर, बुद्धिजिवीका बीचमा अब कस्तो पार्टी बनाउने ? कस्तो नेतृत्व बनाउने भनेर छलफल गर्छौं । हामी त्यहाँसम्म बहस गर्दैछौं कि दोस्रो, तेस्रो पुस्ताका साथीहरूले आउनुप-यो भनेर वातावरण बनेको अवस्थामा मात्रै आउँछौं नत्र हामी आफ्नो तर्फबाट त्याग गर्न तयार छौं । देश रहनुपर्छ, लोकतन्त्र रहनुपर्छ, अहिलेको भन्दा अझै राम्रो देश, नेता र परिवेश बनोस् ।’