विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर कायम

२३ मंसिर, काठमाडौं । नेपाल र चीनले भर्चुयल माध्यमबट पत्रकार सम्मेलन गरेर सगरमाथाको उचाइ ८८४८.८६ कायम भएको सार्वजनिक गरेको छ ।

नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर कायम भएको मंगलबार नेपाल र चीनले भर्चुअल माध्यमबट संयुक्तरुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको सन्देश पढेर सुनाइएको थियो ।

निजामती कर्मचारीको टोलीले शिखरमा पुगेर तथा फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्याङ्कलाई प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गरिएको हो ।

यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाइ घोषणाको स्वीकृति दिएको थियो ।

चीनका राष्ट्रपति सी चिनफिङ गतवर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो ।

नेपालले आजसम्म आधिकारिक रूपमा उल्लेख गर्ने सगरमाथाको उचाई ८८४८ मिटर भारतले सन् १९५४ मा मापन गरेको थियो ।

यस्तै सन् १९९९ मा अमेरिकाले सगरमाथाको उचाई ८८५० मिटर रहेको बताएको थियो भने सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन ८८४४ मिटर रहेको जनाएको थियो । जसमा चीनको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो । सगरमाथाको आज सार्वजनिक मापन हिउँ सतहसहितको हो ।

वि.सं. २०७२ को भूकम्पपछि नापी विभागले गरेको सर्वेमा काठमाडाँैंँका विभिन्न ठाउँको उचाइमा परिवर्तन आएपछि यसैलाई आधार मानेर धेरैले सगरमाथाको उचाइमा परिवर्तन आएको हुनसक्ने अनुमान गरेका थिए । त्यसपछि नै भारतले सगरमाथाको उचाइ नाप्न खोजेको भए पनि नेपालले अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरूको सुझावसमेत लिएर आफैँले सगरमाथाको उचाइ मापन गर्ने घोषणासहित काम अगाडि बढाएको थियो ।