विश्व नै आतंकवादको चपेटामा परेको छः प्रधानमन्त्री

८ असोज ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय विश्व नै आतंकवादको चपेटामा परेको उल्लेख गर्दै त्यसविरुद्ध विश्व समुदायबीच सहकार्य जरुरी रहेको बताएका छन् ।

शनिबार न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई  सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पछिल्लो समय विश्व नै आतंकवादको चपेटामा परेको उल्लेख गर्दै त्यसविरुद्ध विश्व समुदायबीच सहकार्य जरुरी रहेको बताएका हुन् । उनले आतंकवादलाई चिरेर मात्र विश्व शान्ति र विकासमा अघि बढ्न सकिने बताए ।

करिब दुई दशकपछि राष्ट्रसंघको हलमा आफूले पुन: आफ्ना कुरा राख्न पाएको स्मरण गर्दै प्रधानमन्त्री देउवाले भने, ‘यसबीचमा धेरै विषयको प्रत्यक्षदर्शी भएको छु, विकासमा प्रगति भइरहेको छ । नेपालमा पनि धेरै परिवर्तन भए तर चुनौती पनि थपिँदै गएका छन् ।’

उनले सबैभन्दा ठूलो चुनौती बढ्दो अतिवाद र आतंकवाद नै रहेको दोहो¥याउँदै यसको निवारण मुलुक–मुलुकबीचको सहकार्यबाट मात्र सम्भव हुने बताएका थिए ।

प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा विभिन्न मुलुकमा शान्ति सेना पठाएर नेपालले विश्व शान्ति स्थापनामा पहल गरिरहेको बताउँदै शान्ति प्रक्रियामा नेपालले थप सुरक्षाकर्मी पठाउन सक्ने  बताए । राष्ट्रसंघको उच्च पदमा नेपाली सेनाको पनि सहभागिता रहनुपर्ने देउवाले बताए ।

उनले जलवायु परिवर्तनको असर नेपालमा पनि परिरहेको र यो विश्वको चुनौतीमध्ये एक रहेको भन्दै उनले पेरिस सम्झौता कार्यान्वयनमा समेत जोड दिए ।

नेपालले यौन दुराचारमा शून्य सहनशीलता नीति लिएको बताउँदै नेपालको संविधानले मानव अधिकार र अन्य अधिकारहरू स्पष्ट पारेको र नेपाल विश्वकै उदार र लोकतान्त्रिक मुलुकहरूमा अग्रणी रहेको दाबी प्रधानमन्त्रीले गरे । उनले नेपाल राष्ट्रसंघीय मानव अधिकार परिषद् सदस्यमा उम्मेदवार बनेको स्मरण गराउँदै समर्थनका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरे ।

नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय रहेको दाबी गर्दै नेपाल शान्ति प्रक्रिया पूरा गरेर राजनीतिक स्थायित्वतर्फ अघि बढेको बताए । सशस्त्र द्वन्द्वको सफल अवतरण विश्वमै मौलिक रहेको भन्दै उनले भने, ‘हाम्रो शान्ति प्रक्रिया मौलिक रह्यो । यसमा हामीले धेरै सहकार्य गर्‍यौं । राष्ट्रसंघको पनि उत्तिकै महत्त्वपूर्ण सहयोग रह्यो ।’ स्थानीय तहको निर्वाचन सफल भएर संविधान कार्यान्वयनको महत्त्वपूर्ण खुडकिलो पार गरेको जनाउँदै प्रधानमन्त्रीले आगामी प्रदेश र संघको निर्वाचनसमेत सफल हुने विश्वास व्यक्त गरे ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी प्रधानमन्त्रीको सम्बोधनका क्रममा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराई, परराष्ट्र अधिकारी र अमेरिकामा रहेका केही नेपालीको उपस्थिति थियो ।

तपाइको मत