१ कार्तिक ०७७, पर्सा । जिल्लाको वीरगञ्जस्थित गणेश अपार्टमेन्टबाट प्रहरीले २३ किलो बढी सुन बरामद गरेको छ ।
पर्सा प्रहरी प्रमुख गंगा पन्तले वीरगञ्ज महानगरपालिका–५, रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मार्दा २३ किलो बढी सुन फेला परेको बताएका हुन् ।
उनले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद भएको साथै सुनका गरगहना समेत गरेर २३ किलोभन्दा बढी सुन बरामद भएको जानकारी दिइन् ।
यस्तै २ केजी २६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुँडा समेत प्रहरीले बरामद गरेको छ ।
पर्सा प्रहरी प्रमुख पन्तले सुनका मालिक आउने सूचनाका आधारमा प्रहरी राति कुरेर बसेको तर नआएपछि स्थानीयको रोहबरमा अपार्टमेन्टको फ्ल्याट नम्बर ३०३ खानतलासी गर्दा सुन र चाँदी बरामद भएको बताए ।
उक्त फ्ल्याट अशोक सिन्हाको रहेको बताइएको छ भने यस सम्बन्धमा प्रहरी अनुसन्धान गरिरहेको प्रहरी प्रमुख पन्तले बताइन् ।