वीर अस्पतालमा शल्यक्रियाबिनै जाँच्ने आधुनिक उपकरण ल्याइने

काठमाडौं । वीर अस्पतालमा पहिलो पटक मदिरा सेवनका कारण कलेजो बिग्रिएकाहरू र हेपाटाइटिस ‘बि’ र ‘सि’ का लागि शल्यक्रियाबिनै कलेजोको कडापन जाँच्ने आधुनिक उपकरण ‘फाइब्रो स्क्यान’ ल्याइने भएको छ ।

स्वास्थ्य मन्त्रालय र रोटरी क्लवको संयुक्त लगानीमा उक्त उपकरण वीर अस्पतालमा ल्याउने तयारी भएको हो । दुई करोड रुपैयाँभन्दा बढी पर्ने उक्त फाइब्रो स्क्यानका लागि मन्त्रालयले २० लाख रुपैयाँ लगानी गर्ने छ भने बाँकी रकम रोटरीले लगानी गर्नेछ । उक्त मेसिन हालसम्म कुनै पनि सरकारी अस्पतालमा छैन । स्वास्थ्य खबरपत्रिकामा खबर छ ।

कलेजोमा फाइब्रोसिस (कोष क्षति भएर हुने कडापन)बढी भयो भने यो समस्या देखिन्छ । यसअघि कलेजोमा कडापन भए/नभएको थाहा पाउन बायस्पी (शल्यक्रियामार्फत कलेजोको टुक्रा काटेर गरिने परीक्षण) गर्नुपर्ने वाध्यता थियो ।

कलेजो रोग विशेषज्ञ डा.दिलीप शर्माका अनुसार स्वस्थ कलेजो नरम हुन्छ । कुनै कारणले कलेजोमा समस्या बढ्दै जाँदा यसको कडापन पनि बढ्दै जान्छ । कडापन बढ्दै गएपछि लिभरसिरोसिसको सम्भावना बढी हुन्छ । एकपटक लिभरसिरोसिस भएपछि जीवनभर निको हुँदैन ।

कलेजो कडा भएमा हातखुट्टा सुन्निने, पेटमा पानी जमेर फुल्ने, रगत बान्ता हुने र बेहोस हुने समस्या देखा पर्छ । यो उपकरण कलेजो सम्बन्धी समस्या भएका बिरामीका लागि बरदान भएको कलेजोरोग विशेषज्ञ डा. शर्माले बताए ।

तपाइको मत