वैदेशिक रोजगारीमा जानेले दुईवटा बैंक खाता खुल्नुपर्ने प्रावधान ल्याउँदै

३० असार ०७४, काठमाडौं । सरकारले अब वैदेशिक रोजगारीमा जाने नेपालीले  अनिवार्य रुपमा  आफ्नो  र परिवारका नाममा दुईवटा बैंक खाता खोल्नुपर्ने प्रावधान  ल्याउने भएको छ ।

बैदेशिक रोजगारीमा गएका ब्यक्तिले नेपालमा पठाउने रकम अधिकांश उपभोगमा खर्च हुने गरेकोले अधिकांश रकम उपभोगमा खर्च नहोस् भनेर घर खर्चका लागि छुट्टै परिवारको खाता खोल्ने व्यवस्था गर्न लागिएको हो ।

श्रममन्त्री फरमुल्लाह मन्सुरले उपभोग मै रेमिट्यान्स सकाउने क्रम रोक्नको लागि दुई खाताको अवधारणा ल्याइएको बताए ।

उनले  ‘वैदेशिक रोजागारीमा गएका व्यक्तिले अहिले पनि हुण्डीबाट पैसा पठाउने गरेकले त्यसलाई  रोक्नका लागि दुईवटा बैंक खाता अनिबार्य रुपमा खोल्नुपर्ने व्यवस्था गर्दैछौं ’ भने  ।

सरकारले बिमा पनि परिवार र आफ्नो दुबै गर्नुपर्ने व्यवस्था गर्न लागेको छ । यसअघि वैदेशिक रोजगारीमा जानेले आफ्नो बीमा गरेर जानुपर्ने व्यवस्था थियो ।

मन्त्रिपरिषदबाट पारित स्वास्थ्य बीमा विधेयक २०७३ मा परिवारको स्वास्थ्य बीमा गरेपछि मात्रै बैदेशिक रोजगारका लागि जान पाइन ब्यवस्था छ ।

व्यवस्थापिका संसदमा यो बिधेयक दर्ता भएको छ । संसदले पास गरेपछि मात्रै यो विधेयक पुर्ण रुपमा कार्यान्वयनमा आउँनेछ ।

विदेशमा काम गरिरहेका नेपालीले घर पठाउने रेमिट्यान्समध्ये २८ प्रतिशत रकम मात्रै तिनका परिवारले बचत गर्ने गरेको नेपाल राष्ट्र बैंकले गतवर्ष गरेको अध्ययनले देखाएको थियो।

राष्ट्र बैंकका अनुसार अध्ययन क्रममा उत्तरदाताहरुले शिक्षा, स्वास्थ्य र अन्य घरायसी खर्चमा रेमिट्यान्स रकमको २३ प्रतिशतमात्रै खर्च गर्ने गरेका थिए ।

सरकारले गत महिना जारी गरेको आर्थिक सर्वेक्षणले कुल गार्हस्थ उत्पादन (जीडीपी)मा कुल गार्हस्थ बचतको अंश ५ दशमलव ३ प्रतिशत रहेको बताएको छ । तर जीडीपीमा कुल राष्ट्रिय बचतको अंश ४२ दशमलव ९ प्रतिशत रहेको देखाएको छ ।

 

 

 

तपाइको मत