१६ जेठ ०७४, काठमाडाैं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आर्थिक वर्ष ०७४/०७५ को बजेटमा आशालाग्दा प्रस्ताव नभएको बताएका छन् ।
सोमबार संसदमा प्रस्तुत आर्थिक वर्ष ०७४/०७५ को बजेट माथि टिप्पणी गर्दै भट्टराईले बजेटमा रकमी भाषाबाहेक आशालाग्दा प्रस्ताव नभएको बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत बजेटबारे अाफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टरार्इले आकारमा ठूलो आएपनि बजेटमा आर्थिक पुनर्जीवनको स्पष्ट दिशा निर्देशन र बजेट कार्यान्वयनको प्रष्ट खाका नभएको भन्दै टालटुलमै सीमित र कार्यक्रमहरु छरपस्ट देखिएको बताएका छन् ।
सफल अर्थमन्त्रीको रुपमा कार्यकाल पूरा गरेका डा. भट्टराईले यस बजेटले पक्षघातग्रष्त अर्थ-सामाजिक संरचनालाई उत्थान गर्ने आशालाग्दा प्रस्ताव नसमेटिएको उल्लेख गरेका छन् ।
‘निजी क्षेत्रलाई पनि उत्साहित गर्ने, वैदेशिक लगानी भित्र्याउने इत्यादि विषयमा बजेटले खास बोलेको छैन’ भट्टराईले भनेका छन्, ‘नयाँ लोकपि्रय कार्यक्रमको छूट नभए पनि, पर्यटन, कृषिजस्ता क्षेत्रमा सुधारका लागि नीतिगत पहलबारे बजेटले बोलेको छैन ।’