व्यवस्थापिका-संसदको कार्यावधि शनिबार राति १२:०० बजे अन्त्य हुँदै

 

व्यवस्थापिका संसदको अन्तिम दिन शनिबार संसद भवन नयाँ बानेश्वरमा सभामुख र प्रधानमन्त्री सांसदहरु । तस्बिर : रत्न श्रेष्ठ, रासस

२८ असोज ०७४, काठमाडौं । नयाँ संविधानमा व्यवस्था भए अनुसार व्यवस्थापिका-संसदको कार्यावधि शनिबार राति १२:०० बजे अन्त्य हुँदैछ ।

संसदको नयाँ निर्वाचनका लागि आइतबार मनोनयन सुरु हुने भएसँगै शनिबार राति १२:०० बजे व्यवस्थापिका-संसदको कार्यावधि अन्त्य हुने भएको हो ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने दिन आइतबार तोकेकोपछि शनिबार अन्तिम बैठक बसेसँगै संसद्को आयु सकिएको हो ।

शनिबार बसेको व्यवस्थापिका संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभामुख ओनसरी घर्तीले संसद्को कार्यकालमा ६६६ दिन बैठक बसेको र यस बीचमा जनताका आवश्यकताका ५६ विधेयक पारित भएको बताएकी छन् ।

संसद्को अन्तिम बैठकमा सम्बोधन गर्दै सभामुख घर्तीले सदनको यस कार्यकालमा जनताको प्रत्यक्ष सरोकार राख्ने मुलुकी र फौजदारी कानुन पारित गर्न सफल भएकामा खुशी व्यक्त गरिन् ।

कार्यकालमा दुई प्रधानमन्त्रीको निर्वाचन, बजेट तथा कार्यक्रम प्रस्तुत लगायत सदनका कार्य प्रभावकारी र पारदर्शी बनाउन, संसदको फजुल खर्च कटौती, प्रत्यक्ष प्रसारणलगायत कार्य भएको बताइन् ।

कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सभामुख घर्तीले संसद्को अन्तिम बैठक स्थगित भएको घोषणा समेत गरिन् ।

 

तपाइको मत