व्यापारी पक्राउको विरोधमा रामगोपालपुरमा चक्का जाम

१४ चैत्र ०७४, महोत्तरी । विद्यूत चोरीको आरोपमा पक्राउ परेका व्यापारीको विरोधमा अपरान्हदेखि रामगोपालपुरमा स्थानीय व्यापारीले चक्का जाम गरेका छन् ।

बुधवार विद्यूत चुहावट नियन्त्रणका लागि खटिएको सुरक्षाकर्मीसहितको टोलीले रामगोपालपुर ५ का पान पसलका सञ्चालक बेचन चौधरीलाई  पसलबाटै नियन्त्रणमा लिएपछि विरोधमा उत्रिएका स्थानीय व्यापारीले रामगोपालपुरमा चक्का जाम गरेका हुन् ।

उनीहरुले जलेश्वर वर्दिवास सडक खण्डमा बाँसका भर्‍याङ र ब्रेन्च तेर्स्याउनुका साथै टायर बालेर अवरोध गरेका छन् । सडक अवरोधका कारण  साना तथा ठूला सवारी साधनहरु रामगोपालपुरमै रोकिएका छन् ।

चौधरीलाई तत्काल रिहाईको माग गर्दै उनीहरुले रामगोपालपुरस्थित विद्यूत प्राधिकरणको महशुल काउण्टरमा समेत तालाबन्दी गर्दै नाराबाजी गरेका छन् । उनीहरुले प्राधिकरणका कर्मचारीद्वय पुरुषोत्तम प्रसाई र मनोज यादवलाई काउण्टरमा थुनेका छन् ।

निर्दोष व्यक्तिलाई नियन्त्रणमा लिएर प्राधिकरणले ज्यादती गरेको व्यपारीहरुको आरोप छ । चौधरीले आफ्नो पान पसलमा सब मिटर राखेर विद्यूत प्रयोग गरेको उनीहरुले जनाए ।

प्राधिकरणको जलेश्वर शाखाका प्रमुख माधवेन्द्र यादवले अघिल्लो दिन नै सुराकी प्रयोग गरी चौधरीले हुकिङ गरेको पत्तो लगाएका कारण उनलाई सोही सूचनाको आधारमा विद्युत चुहावट नियन्त्रण टोलीले चौधरीलाई नियन्त्रणमा लिएको बताए ।

तपाइको मत