शान्तिका लागि ९ वर्षदेखि पाइडल खियाउँदै

राजविराज । विश्व शान्ति, भाइचारा र मानवताको सन्देश बोकेर एक  युवक विगत ९ वर्षदेखि साइकल तान्दै स्वदेश र विदेश भ्रमण गरिरहेका छन् ।

विश्व साइकल यात्री हेमराज पौडेल

कपिलवस्तु जिल्लाका ४० वर्षीय हेमराज पौडेल ०६५ बैशाख १ गतेदेखि साइकल यात्रीको रुपमा विश्व भ्रमणका लागि निस्केका थिए ।

उनले ९ वर्षको अवधिमा केन्या, फिलिपिन्स, रुवाण्डा, थाइलैण्ड, बंगलादेश, श्रीलंका, भुटान, अफगानिस्तान, इरान लगायत २८ राष्ट्रको भ्रमण गरिसकेका छन् ।

नेपालको ७२ जिल्ला भ्रमण गरिसकेका हेमराज बुधबार सप्तरी सदरमुकाम राजविराज आइपुगेका छन् । उनले साइकल भ्रमण कष्टकर र जोखिमपूर्ण भए पनि विश्व शान्ति, भाइचारा र मानवताको सन्देश लिएर ठाउँ ठाउँमा पुग्दा मिलेको सम्मान र सहयोगले आत्म सन्तुष्टि र आनन्द मिलेको सुनाए ।

हेमराजले विश्व भ्रमणको क्रममा अफगानिस्तानमा तलिवानी समूहका लडाकुहरुले ८ दिन बन्धक बनाई छाडेको घटना बाहेक अन्य सबै देशका भ्रमण सुखद रहेको बताए ।

उनले आफ्नो भावी यात्रा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको हुने र त्यसपछि सिंगापुर, अष्ट्रेलिया र अमेरिकातर्फ लाग्ने योजना रहेको समेत सुनाए ।

बिहान ६ बजेबाट यात्रा सुरु गर्ने र राती ८ बज्दा नबज्दै बाटोमा पर्ने लज, धर्मशाला वा विद्यालयमा विश्राम गर्ने दैनिकी बनाएको उनको भनाई छ ।

उनले यात्राका लागि विभिन्न संघ–संस्थाले आर्थिक सहयोग जुटाई दिएको तथा यात्राका क्रममा बाटामा समेत विभिन्न संघ संस्थाद्वारा सहयोग प्राप्त हुने गरेको कारण खासै समस्या नपरेको जानकारी पनि दिए ।

नेपालको पहिलो विश्व साईकलयात्री पुस्कर साहपछि हेमराज पौडेल दोस्रो नपाली साईकल यात्री हुन् ।

 

तपाइको मत