शान्तिपूर्ण प्रदर्शनमा प्रहरीद्वारा लाठीचार्ज साथै अश्रु ग्यास प्रहार

१८ असार ०७७, धनुषा । शान्तिपूर्ण रुपमा अघि बढिरहेको प्रदर्शनलाई प्रहरीले रोक्न खोजेपछि भएको झडपमा प्रहरीद्वारा लाठीचार्ज साथै अश्रु ग्यास प्रहार भएको छ ।

आइसोलेसनमा छटपटिएर ज्यान गुमाएका राजु सदा र प्हरी हिरासतमा मृत भेटिएका शम्भु सदाको न्यायका लागि जनकपुरधाममा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको हो ।

राजु र शम्भुको मृत्यु सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै दलित संघर्ष समितिको अगुवाइमा बिहीबार प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरु नाराबाजी गर्दै बजार परिक्रमा गर्ने क्रममा मुख्यमन्त्री कार्यालय अगाडि पुगेपछि प्रहरीले रोक्न खोज्दा भिड अघि बढेसँगै प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रु ग्यास प्रहार गरेको थियो ।

दलित संघर्ष समितिको अगुवाइमा निकालिएको बिरोध प्रदर्शनमा प्रहरीले गरेको लाठी चार्जबाट दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ ।

प्रदर्शनको कारण, गत असार ९ गते आइसोलेसनमै छटपिटएर धनुषाको हंसपुर नगरपालिकाका १६ वर्षीय राजु सदाको ज्यान गएको थियो भने सवारी ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय सबैलामा थुनिएका स्थानीय शम्भु सदा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।