शिक्षक सेवा आयोगका अध्यक्ष गौतमलाई कारबाही गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमलाई कारबाही गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयले चैत २१ गते बुधवार एक पत्र लेखि शिक्षा मन्त्रालयलाई आयोगका अध्यक्ष गौतमलाई आवश्यक कारबाही गर्न आदेशानुसार अनुरोध गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले चैत २० गते चलानी नम्बर ४७८९ को पत्र मार्फत् शिक्षा मन्त्रालयलाई आयोगका अध्यक्ष गौतमलाई आवश्यक कारबाही गर्न निर्देशन दिएको हो ।

शिक्षक सेवा आयोगका अध्यक्ष गौतमले सर्वोच्च अदालतमा झुठो प्रमाण पेश गर्दा हजारौं शिक्षक लाइसेन्स, शिक्षा विषय र तालिम नभएका साथै लियन राख्ने बस्ने शिक्षक परीक्षाको फारम भर्नबाट बञ्चित भएका भन्दै गौतमसहित आयोगका पदाधिकारीहरुलाई कारबाही गर्न माग गर्दै जनप्रभात मावि कालिमाटीका अस्थायी शिक्षक शरद कुमार मिश्रले साउन ११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दर्ता गराएका थिए ।

प्रधानमन्त्री कार्यालयले गत साउन २३ मा अध्यक्ष गौतम लगायत पदाधिकारीहरुलाई आवश्यक कारबाही गर्न शिक्षा मन्त्रालयमा पत्र पठाएको थियो । तर, शिक्षा मन्त्रालयले गौतमलाई कारबाही प्रक्रिया अघि नबढाएपछि पुनः मिश्रले चैत १८ गते प्रधानमन्त्री कार्यालयमा कारबाहीका  लागि निवेदन दर्ता गराएका थिए ।

शिक्षक नियुक्ति, सरुवा र दरबन्दी मिलान गर्न रोक

जिल्ला शिक्षा कार्यालयहरुले अब शिक्षक नियुक्ति, सरुवा र दरबन्दी मिलानका काम गर्न नपाउने भएका छन् ।

सरकारले चैत २८ मा विघटन हुन लागेको जिशिकाहरुको म्याद असार मसान्तसम्म थप गरेको भोलिपल्ट शिक्षा विभागले बुधबार उक्त तीन कार्य नगर्न जिशिकाहरुलाई निर्देशन दिएको हो ।

विभागका महानिर्देशक बाबुराम पौडेलले ७७ वटै जिल्ला शिक्षा कार्यालयहरुलाई शिक्षक नियुक्ति, सरुवा र दरबन्दी मिलानका काम नगर्न निर्देशन दिईएको जानकारी दिए ।

पौडेलकाअनुसार शिक्षक नियुक्तिको काम स्थानीय तहबाट र दरबन्दी मिलानको काम केन्द्रबाट गर्न गइरहेकाले अर्को निर्णय नहुँदासम्मका लागि उक्त काम नगर्न जिशिकालाई निर्देशन दिइएको हो ।

तपाइको मत