२ बैशाख ०७७, काठमाडौं । संघीय संसद शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ को सम्भावित खतरा रोकथाम र नियन्त्रणका लागि सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।
शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीको सभापतित्वमा मंगलबार भिडियो कन्फरेन्समार्फत् बसेको बैठकले कोरोना भाइरसको सम्भावित खतरा, उपचार, रोकथाम र नियन्त्रणका लागि सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।
समितिकी सभापति घर्तीले सांसदहरुले भिडियो कन्फरेन्समामार्फत् कोरोना भाइरस, सम्भावित खतरा, उपचार, रोकथाम र नियन्त्रणका उपायहरुबारे उठाइएका सुझावहरु सरकारलाई दिने निर्णय भएको बताइन् ।
बैठकले चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायत प्रत्यक्ष उपचारमा खटिने सबैलाई गुणस्तरीय स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
यस्तै बैठकले कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य सामग्री (भेन्टिलेटर, परीक्षण किट, पीपीई लगायत) जतिसक्दो चाँडो खरिद गरी ल्याव परीक्षणमा तीब्रता दिन र क्वारेन्टाइन, आइशोलेसनमा बस्नेहरुको उपचार र खानपिनको उचित व्यवस्था सरकारले गर्नुपर्नेमा जोड दिएको छ ।
यसैगरी सरकारले जारी गरेको लकडाउनका कारण गरिब, बिपन्न नागरिकको दैनिकीमा परेको समस्याको उचित सम्बोधन गर्न र राहत वितरणमा अनियमितता भएको भन्ने जनगुनासो आइरहेको भन्दै बैठकले आवश्यक कदम चाल्न सरकारलाई सुझाएको छ ।
समितिकी सभापति घर्तीका अनुसार कोरोना संक्रमण आशंका गरिएका बाहेकका अन्य बिरामीहरुलाई उपचार गर्न सहज वाताबरण बनाउनु पर्ने, कोरोनाको त्रासमा परेकाहरुलाई मनोपरामर्शको व्यवस्था गरिनु पर्ने लगायतका विषयहरु बैठकमा सांसदहरुले गम्भीरताका साथ उठाएका छन् ।
यस्तै, बैठकमा उठाइएका सवाल र सुझाबहरु व्यवस्थित गरेर सरकारको ध्यानाकर्षण गराइने सभापति घर्तीले जानकारी दिइन् ।
सिंहदरबारस्थित बैठक हलबाट भिडियो छलफल सुरु गरेकी समिति सभापति घर्ती ल्यापटपमा उपस्थित थिइन् भने सांसद गगन थापा र खगराज अधिकारी सशरीर उपस्थित भई आफ्नो भनाई राखेर बाहिरिएका थिए ।
भिडियो कन्फरेन्समा सहभागी अन्य सांसदहरुलाई सभापति घर्तीले भनाई राख्ने पालो दिएकी थिइन् भने छलफलमा सांसदहरुले भिडियो कलमार्फत् आफ्ना विचारहरु राखेका थिए ।
अन्तमा, सभापति जयपुरी घर्तीले डिजिटल पद्धतिबाट बैठकमा सहभागी भएकोमा सांसदहरुलाई धन्यवाद दिएकी थिइन् ।