शीर्ष नेतालाई संविधान कार्यान्वयनतर्फ गम्भीर बन्न राष्ट्रपतिको ध्यानाकर्षण

२१ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दलीय एकता कायम गरेर संविधान कार्यान्वयनतर्फ गम्भीर बन्न शीर्ष नेताको ध्यानाकर्षण गराएकी छन् ।

rastrapati

राष्ट्रपति भण्डारीले व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच दलका शीर्ष नेतालाई बिहीबार साँझ शीतल निवास बोलाएर संविधान संशोधन, संसद् सुचारु, निर्वाचन मिति तथा निर्वाचन कानुनका विषयमा चासो राख्दै समस्या समाधानका लागि गम्भीर बन्न ध्यानाकर्षण गराएकी हुन् ।

राष्ट्रपतिले आयोजना गरेको प्रमुख पाँच दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयकलाई व्यवस्थापिका संसदमा टेबुल गर्न दिन आग्रह गरेका छन् ।

सो बैठकमा एमाले लगायतका विपक्षी दलले भने सर्वोच्च अदालतले प्रदेशको सीमांकन गर्न प्रदेशसभाको सहमति चाहिने भनी आदेश दिएको भन्दै संसदमा दर्ता भएको संशोधन विधेयक अघि बढ्न नसक्ने तर्क गरेका छन् ।

एमाले अध्यक्ष ओलीले अदालतले भनिसकेपछि विधेयक टेबुलको कुरा कहाँबाट आयो ? भन्ने प्रश्न गर्दै विधेयक फिर्ता लिएर चुनावमा जान आग्रह गरेका थिए ।

जबाफमा प्रधानमन्त्री प्रचण्डले चुनाव गर्न सरकार कटिबद्ध रहेको तर संशोधन विधेयकलाई प्रक्रियामा जान दिनुपर्ने धारणा राखेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी र थारुका माग सम्बोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने बताएका थिए । त्यसपछि ओलीले मधेसी र थारूका जायज मागप्रति आफ्नो दल सकारात्मक रहेको बताए ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, एमाले अध्यक्ष केपी शर्मा ओली, भीम रावल, राप्रपा अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदार सहभागी थिए ।

तपाइको मत