शुक्रबारदेखि शहरका होर्डिङ बोर्ड र पोस्टर हटाइँदै

१० पुस ०७६, काठमाडौं । सरकारले शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामाग्री हटाउने भएको छ ।

बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यतामा गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायहरुसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले काठमाडौं महानगरपालिकाभित्र भोलि शुक्रबारदेखि नै चार समूह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने र अन्य स्थानीय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् निर्देशन दिई कारवाही अघि बढाउने निर्णय गरेको छ ।

यस्तै बैठकले अव्यस्थितरुपमा राखिएका टेलिफोन, केबल तथा इन्टरनेट सेवाप्रदायकका तारहरु हटाउन समयसीमा तोकी सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए त्यस्ता तारहरुलाई काटेर हटाउने निर्णय समेत गरेको छ ।

बैठकमा गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचनाहरु हटाइन लागेको बताए ।

यस्तै सर्वोच्च अदालतले समेत यस सम्बन्धमा आदेश दिइसकेको बताउँदै गृहमन्त्री थापाले सो आदेश कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका भित्र भोलिबाट नै त्यस्ता संरचना हटाउन सुरु गर्ने प्रतिवद्धता व्यक्त गरे । ती संरचना हटाउँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको पूर्ण सहयोग रहनेछ ।