७ फागुन ०७४, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वसम्मत संसदीय दलको नेता छाड्न नहुने बताएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा प्राविधिक विद्यार्थी परिषद केन्द्रीय समितिले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा संसदीय दलको नेतामा आफ्नो दावी रहेको बताउँदै नेता सिंहले देउवालाई सर्वसम्मत दलको नेता छाड्न नहुने बताएका हुन् ।
‘शेरबहादुर देउवाजीलाई सर्वसम्मत छाड्नु हुँदैन भन्ने बिचार बोकेको व्यक्ति हुँ’ नेता सिंहले भने, ‘त्यसबारे पार्टीमा पनि छलफल चलिरहेको छ, म अगाडि बढिरहेको छु ।’
यसअघि कांग्रेसका अन्य नेताहरुले सर्वसम्मत हुने भए महामन्त्री शशांक कोइरालालाई र निर्वाचन लड्ने अवस्था आए प्रकाशमान सिंहलाई संसदीय दलको उम्मेदवार बनाउने बताएका थिए ।
हालको नेतृत्वले पार्टीलाई विधि, विधानअनुसार चलाउन नसक्दा कमजोर हुँदै गएको नेता सिंहको भनाइ छ ।