श्रमजीवी पत्रकारको आन्दोलन : थाल ठटाउँदै, मालिकलाई फूल दिँदै (भिडियोसहित)

काठमाडौं । कान्तिपुर प्रकाशन गृहले निश्कासन गरेका श्रमजीवी पत्रकारहरुलाई तत्काल पुनवर्हाली नगरे पत्रकारका संगठनहरुले कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

पत्रकारहरुले बिहीबार दिउँसो थाल ठटाउँदै, व्यवस्थापनलाई फुल दिएर सांकेतिक व्यङ्ग्य गर्दै निश्कासित पत्रकारहरुलाई तत्काल पुनवर्हाली नगरे निर्णायक आन्दोलनले पत्रकारहरुका मुद्दा सम्बोधन गराउन बाध्य पार्ने चेतावनी दिएका हुन् ।

कान्तिपुरले कोरोना संकटको बाहना बनाएर ५५ जना श्रमजीवी पत्रकारहरुलाई अपमानजनक तरिकाले निश्कासन गरेको भन्दै नेपाल पत्रकार महासंघको अगुवाईमा यसैहप्ता (मंगलबार) धर्नाका समेत दिइएको थियो ।

सो धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले देशको ठूलो मिडियाको दावी गर्ने कान्तिपुरले न्युनतम् मानवीय मूल्य र मान्यता ख्याल गर्न र कुनै पनि बहाना नबनाई पुर्नबहाली गर्नुपर्ने बताएका थिए ।

यस्तै कान्तिपुर, अन्नपूर्ण, नागरिक दैनिक, एपी वान लगायत मिडिया हाउसमा ऐन कार्यान्वयनमा समस्या देखिएको भन्दै उनले ती मिडिया हाउसलाई श्रमजीवी पत्रकारहरुको पूरा तलब दिन, बेतलबी बिदामा बस्न बाध्य नपार्न र राजीनामा दिन बाध्य पार्ने कार्य तत्काल रोक्न भनेका छन् ।

“हाम्रो आग्रह छ, समयमै समस्याको हल होस्, अन्यथा महासंघको निर्णायक आन्दोलनले पत्रकारहरुका मुद्दा सम्बोधन गराउन बाध्य पार्नेछ” महासंघका केन्द्रीय सदस्य जैसीले भने ।

कान्तिपुरको धर्ना कार्यक्रममा यसैगरी प्रेस संगठनका विश्वमणी सुवेदीले बिनाकारण श्रमजीवी पत्रकार कटौती गर्ने बिग मिडियाहरुलाई नांगेझार पारिने बताए । उनले श्रमजीवीका माग पूरा नहुञ्जेल प्रेस संगठन आन्दोलनमासँगै हुने प्रतिवद्धता जनाएका थिए ।

यस्तै क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य करनसिंह बडाल, प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसी, प्रेस नेपालका अध्यक्ष केशव अर्याल, ट्रेड युनियन कान्तिपुर एकाईका तीनवटै संगठनले श्रमजीवी पत्रकारहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै ठूला मिडियाको अत्याचार कायम रहे मिडियाका मालिकहरुलाई गलहत्याएर यथार्थ धरातलमा ल्याउने चेतावनी दिएका थिए ।

भिडियो