४ बैशाख ०७७, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अन्टुुफ केन्द्रीय उपाध्यक्ष जय कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई नयाँ नमूना बन्न आग्रह गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)द्वारा गठित कोरोना राहत, उद्दार तथा विपद व्यवस्थपन समितिका संयोजक समेत रहेका कार्कीले लकडाउनको समयमा निष्क्रिय जस्तै देखिएका श्रममन्त्री रामेश्वर राय यादवलाई सक्रिय बन्न आग्रह गरेका हुन् ।
“वैदेशिक रोजगारीमा गएर विदेशमै लकडाउनमा परेका भाईरस पीडित भएका र परिवारलाई खर्च पठाउन नसकेको अवस्था र स्वयं भोकभोकै परेको उपचार नपाएको बारे बैकल्पिक उपायको खोजी गर्नु पदैन ?” उपाध्यक्ष कार्कीले प्रश्न गरेका छन्, “के भइरहेको छ भन्ने बारेमा नियमित जानाकारी पाउने हाम्रो हक छैन ? श्रममन्त्रीज्यू खुब आराम गर्नुस् । नेपालको श्रममन्त्रीको नयाँ नमूना बन्नुस् भन्दैछन्, मजदुरहरु ।”
विश्वव्यापीरुपमा श्रमिकहरुको अवस्था नाजुक रहेको र यस बारेमा बहस, छलफल र नयाँ-नयाँ उपायको खोजी भइरहेका बेलामा श्रममन्त्रीले मजदुरको समस्या बुझ्ने र समाधान गर्नेतर्फ सक्रियता प्रदर्शन गर्नुपर्नेमा त्यस्तो नभएको भन्दै उपाध्यक्ष कार्कीले यो गम्भीर घडीमा कमसेकम साप्ताहिक बुलेटिनमार्फत् आम नागरिकलाई जानकारी गराउन पनि सुझाएका छन् ।