काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले श्रमिकको आधारभूत आवश्यकता पूरा हुने गरी उचित पारिश्रमिक निर्धारण नगरिए संघर्षमा जाने बताएको छ ।
महासंघका अध्यक्ष जगत सिम्खडाले आइतबार एक विज्ञप्ति जारी गरेर महंगी दिन दुईगुणा र रात चौगुणाका दरले बृद्धि भइरहेको भन्दै रोजगारदाता र सरोकारवाला पक्षसँग यही चैत्र मसान्तभित्र उचित पारिश्रमिक निर्धारण नगरिए संघर्षमा जाने बताएका हुन् ।
“महंगी दिन दुईगुणा र रात चौगुणाका दरले बृद्धि भइरहेको छ । ऐनमा व्यवस्था गरिएको न्यूनतम पारिश्रमिक समेत तोकिएको छैन्,” विज्ञप्तिमा भनिएको छ, “ कोभिड–१९को बहानामा रोजगारदाताहरु श्रमिकको जीवनमाथि खेलवाड गर्ने उद्देश्यका साथ नयाँ पारिश्रमिक निर्धारण नगर्न षड्यन्त्रपूर्वक अनावश्यक टिप्पणी, वहस र छलफल चलाइरहेका छन्, यही चैत्र मसान्तभित्र उचित पारिश्रमिक निर्धारण नगरिए संघर्षमा जान बाध्य हुने यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौं ।”
यस्तै घरानियाँ प्रतिष्ठानका रोजगारदाताहरुले कोरोनाको मौका छोपेर श्रम ऐनको दफा १४५ को गलत व्याख्या र प्रयोग गर्दै स्थायी श्रमिक कटौती गर्दै करारमा श्रमिक नियुक्त गर्ने लहर चलाइरहेका साथै नेपाली श्रम बजारको यो विषम परिस्थितिमा नेपाली मजदुरहरुको गौरवशाली संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ मुकदर्शक भएर बस्न नसक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।