४ पुस ०७७, काठमाडौं । सत्तारुढ दल निकट अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष जय कार्कीले रोजगारदाताहरुबाट श्रमिकहरुमाथि हुने षडयन्त्र र दमन बन्द गर्न मजदुर एकतालाई मजबुत बनाउनु पर्ने बताएका छन् ।
हालै शंकर ग्रुप (जगदम्बा) टिभिएस अन्तर्गत एस.जी. इन्जिनियरिङ प्रा.लि.मा कार्यरत श्रमिकहरूलाई व्यवस्थापनले कटौती गर्ने निर्णय गरेपछि उपाध्यक्ष कार्कीले व्यापारमा ९०० प्रतिशतले वृद्धि गर्ने कम्पनीले श्रमिकहरु निष्काशनको षडयन्त्र गरेको भन्दै मजदुर एकतालाई मजबुत बनाउनु पर्ने बताएका हुन् ।
“अटोमोबाइल श्रमिकहरुमाथि षडयन्त्र गर्न बन्द गर । निष्कासनको धम्की दिन बन्द गर र तिम्रो व्यापारमा ९०० प्रतिशतले वृद्धि भएको छ । घाटा र कोभिड–१९ को हाउगुजी देखाई श्रमिकमाथि दमन गर्न बन्द गर,” उपाध्यक्ष कार्कीले भनेका छन्, “अटो श्रमिकहरुको संघर्षप्रति देशव्यापीरुपमा ऐक्यबद्धता जनाऔं र मजदुर एकतालाई झनै मजबुत बनाऔं ।”
उनले रोजगारदाताहरुले युनियन विघटनका लागि नियोजितरुपमा गरिरहेको हमला तत्काल बन्द गर्नुपर्ने साथै श्रमिकको रोजीरोटी खोस्ने कार्य नरोकिए श्रमजीवी मजदुरसँग संघर्षको विकल्प नरहेको बताए ।
यस्तै उखु किसानहरुको समस्या हल गर्न वर्तमान सरकार र चिनी उद्योगी पूरै उदासिन रहेको भन्दै तत्काल किसानहरुको श्रम र पसिनाको मूल्य भुक्तानी गनुपर्नेमा उनले जोड दिए ।