२८ चैत ०७६, काठमाडौं । समग्र उद्योग ट्रेड यूनियन नेपाल (ह्वीन)ले अति आवश्यक सामग्री उत्पादन गर्ने उद्योगमा उच्च जोखिम मोलेर काम गर्ने मजदुरहरुलाई अत्यावश्यक सुरक्षा सामग्री उपलब्ध गराउन माग गरेको छ ।
खाद्य र औषधिजन्य उद्योगहरु लकडाउन अवधिमा पनि सञ्चालनमा रहेको भन्दै ह्वीनले बिहीबार जारी गरेको विज्ञप्तिमा अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगमा कार्यरत मजदुरहरुलाई विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को मापदण्डअनुसार आधारभूत सामग्री उपलब्ध गराउन माग गरिएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद् बैठकले अति आवश्यक सामग्री उत्पादन गर्ने उद्योगहरु सञ्चालन गर्ने निर्णय गरेको भन्दै अध्यक्ष आनन्द थामीद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा श्रमिकहरुलाई प्रोत्साहनस्वरुप प्याकेज घोषणा गर्न आग्रह समेत गरिएको छ ।
“नेपाल सरकारसँग प्रोत्साहनस्वरुप औधोगिक श्रमिकहरुका लागि प्याकेज घोषणा गर्न माग गर्दछौं,” विज्ञप्तिमा भनिएको छ, “रोजगारदाताहरुले उद्योगमै कवारेन्टाइनको व्यवस्थासहित उद्योग सुचारु गरेको खण्डमा श्रमिकहरु काम गर्न सदैव तयार रहेको स्पष्ट पार्न चाहन्छौं ।”