श्रम नगरी खाने, अझ धनी बनेकाहरु कम्युनिष्ट सदस्य पनि हुन् सक्दैन – लेखनाथ न्यौपाने

वर्तमान राजनीतिक कोर्शलाई सिफ्ट गर्नुपर्दछ

मजदुर डिओसीलाई शुभकामना मन्तव्यसहित आफ्नो धाराणा राख्दै उपत्यका विशेष प्रदेश अध्यक्ष लेखनाथ न्यौपाने

१ मंसिर ०७८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष लेखनाथ न्यौपानेले वर्तमान राजनीतिक कोर्शलाई सिफ्ट गर्नुपर्ने बताएका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका अध्यक्ष न्यौपानेले बिहीबार मजदुर विशेष जिल्ला समन्वय समितिको सपथ ग्रहण कार्यक्रममा शुभकामना मन्तव्य राख्नेक्रममा समाजवाादमा जाने रणनीति र दलालपूँजीवाद विरुद्ध लड्नुपर्छ भन्ने कार्यनीति संकटमा फस्दै गएको भन्दै यस्तो बताएका हुन् ।

बुर्जुवाहरुले उत्कृष्ट भन्ने गरेको निर्वाचन प्रणाली भ्रष्टीकरणमा फसेको र सहमतीय प्रक्रिया जटिल मात्रै नभएर अकर्मण्यतामा फसेको भन्दै उनले भने, “अब कम्युनिष्टहरुले विचारमा विकास गर्दै सांस्कृतिक भ्रष्टीकरणको रुपान्तरणसहित राजनीतिक कोर्शलाई सिफ्ट गर्नुपर्दछ ।”

पद तथा गोपनीयताको सपथ दिँदै मजदुर डिओसीका सदस्यहरु

पछिल्लो समय माओवादी र अन्य पार्टीबीच जनताले भिन्नता नदेखेकोतर्फ संकेत गर्दै अध्यक्ष न्यौपानेले भने, “जनतामा सबै पार्टी, जनसंगठनहरु उस्तैउस्तै भन्ने पर्न गएको छ, ‘मजदुर’ मजदुरजस्तो देखिँदैन; ‘विद्यार्थी’ विद्यार्थी जस्तो देखिँदैन;  ‘बुद्धिजीवी’ बुद्धिजीवीजस्तो देखिँदैन; दलाल पूँजीवादविरुद्ध लड्नु पर्नेमा आज पार्टीभित्रै बिचौलियाको घनत्व बढ्दै गएको छ । हरेक तहमा त्यसको प्रभाव देखिन्छ ।”

सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि लिलामणि पोखरेल लगायत मञ्चासिन अतिथिहरू

“श्रम नगरी वा पसिना नबगाई अथवा उत्पादनसँग नजाेडिएरै खानेहरु, अझ धनी बनेकाहरु कम्युनिष्ट नेता हुने कुरै छाडाैं कम्युनिष्ट सदस्य पनि हुन् सक्दैन” उनले भने, “भ्रष्टीकरण र श्रम नगरीकन धनी हुने प्रवृत्तिलाई बन्ध्याकरण गर्न माओवादी केन्द्रका सबै तहका सदस्यहरुले आफैँभित्र अपोजिसन भई लड्न जरुरी छ; आफ्नो आचरण, काम गर्ने तरिका, जीवनशैली सच्याउनु सक्नुपर्दछ ।”