दिपकप्रसाद गौतम/१७ भदौ ०७४, वीरगञ्ज ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज २ गते हुन गइरहेको २ नम्बर प्रदेशको निर्वाचनमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर पार्टीहरुसँग तालमेल गरेर अघि बढ्ने बताएका छन् ।
पर्साको सदरमुकाम वीरगञ्जमा शनिबार सम्पन्न माओवादी केन्द्रको सचिवालय बैठकपछि आयोजित पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रलाई मधेशमा १ नम्बर पार्टी बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधसँग तालमेल गरेर निर्वाचनमा जाने बताएका हुन् ।
आफ्नो पार्टीले जित्ने ठाँउमा एक्लै र नजित्ने क्षेत्रमा तालमेल गरेरै भएपनि पार्टीलाई जिताउने रणनीति बनाउन पार्टी लागेको बताउदै उनले मधेसमा राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकसँग तालमेल गर्ने योजना बनाइएको जानकारी दिए ।
वीरगञ्जमा सम्पन्न सचिवालय बैठकलाई एकता र धुर्वीकरणपछिको माओवादी केन्द्रको पहिलो बैठक रहेको बताउदै उनले मधेश र मधेशीको हकहितका लागि गरेको पहल र भएका उपलब्धिहरु लिएर मधेशी जनतामा जाने विषयमा सम्पूर्ण सचिवालय सदस्यहरुको सहमति रहेको बताए ।
उम्मेदवार टुंगो लगाउने मुख्य मुद्दामा बैठक केन्द्रित, मधेशीहरुको असली मित्र माओवादी
दुई नम्बर प्रदेशको चुनावी रणनीति निर्माण, समीक्षा एवम् स्थानीय तहको असोज २ गतेको निर्वाचनमा सहभागी हुने उम्मेदवारहरुको टुंगो लगाउने मुख्य मुद्दामा बैठक केन्द्रित रहेको र सबैको सहमति र सहकार्यमा अगाडि बढ्ने निर्णय गरिएको समेत बताए ।
शहीद घोषणा, मधेश आन्दोलनका घाइतेहरुलाई क्षतिपूर्तिको व्यवस्था, सविधान संशोधनको लागि गरेको प्रयास जस्ता आफ्नो पार्टीका उपलब्धिमूलक कार्यहरुलाई अघि सार्दै प्रचण्डले भने, ‘मधेशीहरुको असली मित्र माओवादी केन्द्र नै हो ।’
परिवर्तन पक्षधरको राम्रो परिमाण आए संविधान संशोधन गर्न सकिने
राप्रपाका १० सांसद बाटोबाटै नहराएका भए आफू प्रधानमन्त्री भएकै बेलामा संविधान संशोधन हुने बताउँदै प्रचण्डले चुनावमा परिवर्तन पक्षधर पार्टीहरुको राम्रो परिमाण आए त्यसपछि पनि संविधान संशोधन गर्न सकिने बताए ।
तराई मधेशका बाढीपीडितका लागि प्राधिकरण बनाएर या संकटग्रस्त क्षेत्र घोषणा गरी प्याकेज लगेर भएपनि पीडितहरुलाई राहत दिन पहल गर्ने बताए ।
प्रधानमन्त्री देउवाले संविधानको बारेमा भारतमा बोलेको कुरा असान्दर्भिक टिप्पणी
निर्वाचन क्षेत्र निर्धारणको काम जटिल हुने र सबैको चित्त बुझाउन नसकिने भन्दै उनले भने, ‘कति ठाँउमा हाम्रो पनि चित्त बुझेको छैन् ।’ भारतमा प्रधानमन्त्री देउवाले संविधान संशोधनको बारेमा बोलेको कुरा असान्दर्भिक भएको टिप्पणी गर्दै प्रचण्डले भने, ‘भारतमा प्रधानमन्त्रीले त्यस्तो नबोलेको भए हुन्थ्यो, मैले पनि भेटेर कुरा गर्न पाएको छैन् ।’
नयाँ शक्ति, फोरम लोकतान्त्रिक लगायतका दलबाट केन्द्रीय नेताहरु माओवादीमा प्रवेश गरेकाले सचिवालय बैठक उनीहरुको जिम्मेवारी बाँडफाँड गर्ने, सबैलाई समायोजन गर्ने र कार्य विभाजनको टुंगो लगाउने समेत उनले जानकारी दिए ।
वीरगञ्जमा सम्पन्न सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, वर्षमान पुन ‘अनन्त’, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा प्रभाकर, शहरी विकास मन्त्री प्रभू साह, गोपाल किराती, देवेन्द्र पौडेल लगायत ९४ जना सचिवालय सदस्यहरुको सहभागिता रहेको सचिवालय सदस्य उर्मिला अर्यालले जानकारी दिइन् ।
रहबर अन्सारी वीरगंज महानगरमा माओवादीको उम्मेदवार
माओवादी केन्द्रले वीरगंज महानगरमा रहबर अन्सारीलाई मेयर उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै पर्साका अन्य तीन नगरपालिका पोखरीया, पर्सा गढी र बहुदरमाईको मेयर र उपमेयर तथा १० वटा गाउँपालिका उम्मेदवारको अन्तिम टुंगो स्थानीय नेताहरुको सामुहिक बैठकबाट आज शनिबार साँझ नै टुंगो लगाउने भनिए पनि निर्णय हुन नसकेको बताइएको छ ।
सचिवालय सदस्य उर्मिला अर्यालले विवाद रहेका उम्मेदवारहरुको विषयमा सचिवालयले नै टुंगो लगाउने जानकारी दिइन् ।