१५ चैत्र ०७४, काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गरेकी छिन् ।
बिहीबार तीन तहको निर्वाचनपछि राष्ट्रपति भण्डारीले संघीय संसदको दुबै सदनलाई पहिलो पटक एतिहासिक सम्बोधन गरेका हुन् ।
बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक संक्रमणकालको अन्त्य भइ देश स्थायित्वको बाटोमा प्रवेश गरिसकेको बताइन् ।उनले भनिन्–‘संविधान बमोजिम स्थानीय तह, प्रदेशिक र संघीय जनप्रतिनिधि संस्थाको निर्वाचन सम्पन्न भइसकेको छ । स्थानीय, प्रादेशिक र संघीय सरकारको गठन भइसकेको छ । देशलाई यस अवस्थामा ल्याई पुर्याउन नेपाली जनताले विगतमा सञ्चालन गरेका गाथाको स्मरण गर्दै सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।’
शान्तिनगर गेटबाट बग्गीमा संघीय संसद भवनमा पुगेकी राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, सरकारका मन्त्रीहरुलगायतले स्वागत गरेका थिए भने राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी दिएको थियो ।













