२५ असार ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य पम्फा भुसालले भारतीय संचारमाध्यममा प्रसारित भ्रामक रिर्पोटलाई निन्दीय साथै मानव सभ्यताको निकृष्ट र भद्दारूप भएको बताएकी छन् ।
संघीय सांसद समेत रहेकी नेकपाकी स्थायी समिति सदस्य भुसालले नेपालका प्रधानमन्त्री र चिनिया राजदूतबारे हालै भारतीय मिडियाबाट ‘ओली की इश्किया’ शीर्षकको रिपोर्ट प्रसारित भएपछि यस्तो बताएकी हुन् ।
सांसद भुसालले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, “भारतीय संचारमाध्यममा नेपालका प्रधानमन्त्री र नेपालका लागि चिनिया राजदूतबारे गरेको घटिया प्रचारको जति निन्दा गरे पनि कम हुन्छ । कुटनीतिक मर्यादा र सभ्यताको यो भन्दा निकृष्ट र भद्दारूप अरु हुनै सक्दैन । म यस कुकृत्यको घोर बिरोध गर्दछु । संचारमाध्यमको यतिसारो दुरुपयोग र यति घटिया चिन्तन ! वा रे भारतीय सभ्यता वा रे भारतीय लोकतन्त्र ! अनि महाशक्ति बन्ने चिन्तन र सपना !”
उनले ‘कुछ तो सरम करो’ भन्दै व्यङ्ग्य समेत गरेकी छन् ।
भारतीय टीभी च्यानल जी मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा काल्पनिक कथा बुन्दै ‘ओली कि इश्किया’ शीर्षकमा १६ मिनेटभन्दा लामो रिपोर्ट प्रसारण गरेको थियो ।