३० भदौ ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गरेका छन् ।
शनिबार अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्डले न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।
त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री प्रचण्डलाई बिदाइ गरेका छन् भने प्रधानमन्त्री विदेशमा रहँदा कार्यबाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री खड्काले पाएका छन् ।
परराष्ट्र मन्त्रालयकाअनुसार आगामी आसोज २ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने प्रधानमन्त्री प्रचण्डले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्नेछन् ।
उनले महासभामा विश्व समुदायको विश्वास पुनःजागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य दिने कार्यसूची रहेको छ ।