३० मंसिर, काठमाडौं । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका संसद सेवा दिवसको अवसरमा बिहीबार सिंहदरबारमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै संविधानको प्रभावकारी कार्यान्वयनका लागि दलहरुको ध्यानाकर्षण गराएकी छन् ।
सभामुख घर्तीले संविधान कार्यान्वयनमा आईपर्ने जस्तोसुकै जिम्मेवारी पूरा गर्न व्यवस्थापिका संसद प्रतिवद्ध रहेको भन्दै उनले राजनीतिक दलहरुलाई संविधान सर्वस्वीकार्य बनाउन आग्रह गरिन् ।
गणतन्त्र प्राप्तिको आन्दोलनमा सँगै रहेका राजनीतिक शक्तिहरु आपसमा मिलेर विद्यमान समस्याको समाधान खोज्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै सभामुख घर्तीले सरकारलाई जनताप्रति उत्तरदायी र संसदलाई प्रभावकारी बनाउन प्रत्यक्ष प्रश्नउत्तर सुरु गर्ने काम अन्तिम चरणमा पुगेको बताइन् ।
कार्यक्रममा सर्वोत्कृष्ट, उत्कृष्ट र संसद सेवा पुरस्कार पनि वितरण गरिएको थियो । यस वर्षको सर्वोत्कृष्ट कर्मचारी पुरस्कार सचिवालयकी माली नानीमैया धमनियाले एक लाख रुपैयाँ पाएकी छन् ।
त्यसैगरी उत्कृष्ट कर्मचारीको पुरस्कार कार्यालय सहयोगी मदन गिरीले ७५ हजार रुपैयाँ पाए भने सवारी चालकहरु नृपध्वज बस्नेत र राजकुमार थापाले संसद सेवा पुरस्कार जनही ५० हजार रुपैयाँ पाएका छन् ।