संविधान दिवस-२०७९ को अवसरमा सम्पूर्ण नेपालीमा ‘प्रचण्ड’ शुभकामना

३ असोज ०७९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवस-२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले सोमबार शुभकामना सन्देश जारी गरेर वर्तमान संविधान प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली साथै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दै संविधान दिवसको शुभकामना व्यक्त गरेका हुन् ।

“लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको हो, शुभकामना उल्लेख छ, “संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको छैन, समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकार लगायतका विषयमा अग्रगामी पनि छ ।”

यस्तै सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलो ‘गाउगाउँमा सिंहदरबार’को अनुभूति गराएको भन्दै शुभकामनामा भनिएको छ, “वर्तमान संविधानकै कार्यान्वयनको क्रममा हामी आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा/प्रदेश सभा सदस्य निर्वाचनको प्रक्रियामा छौं । संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि यस निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ ।”

उनले प्रतिगमन विरोधी अग्रगामी सम्पूर्ण नेपाली जनसमुदायलाई गठबन्धनमा रहेका दलहरुलाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि समेत अपील गरेका छन् ।