संविधान संशोधनको विधेयक प्रतिनिधिसभामा पेश गर्ने सरकारको निर्णय

९ जेठ ०७७, काठमाडौं । सरकारले अद्यावधिकसहित हालै सार्वजनिक गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा कार्यान्वयन गराउन संविधान संशोधनको विधेयक प्रतिनिधिसभामा पेश गर्ने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको विधेयक प्रतिनिधिसभामा पेश गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री डा.युवराज खतिवडाले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक प्रतिनिधिसभामा लैजाने निर्णय गरेको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले संविधान संशोधन गरेर नयाँ नक्सालाई कार्यान्वयनमा ल्याएर सम्पूर्ण सरकारी कार्यालयमा औपचारिकता दिने निर्णय गरेको उनले बताए ।