३ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले पूर्वघाेषित अान्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै संविधा संशाेधन बिना निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।
राजपाकाे शुक्रबार बसेको बैठकले चुनाव अवरूद्व गर्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।
राजपाका नेता राजकिशोर यादवले सरकारकाे निर्णय अाफूहरूलाई मान्य नरहेेेकाे बताए ।
‘सरकारको निर्णय हामीलाई मान्य छैन, हामी हाम्रा मागहरु पूरा नभएसम्म चुनावमा भाग लिँदैनौं’ उनले भने, ‘संघर्षका कार्यक्रमलाई निरन्तरता दिन्छौं ।’
यसअघि घोषणा गरिएका आन्दोलका कार्यक्रम फिर्ता नहुने यादवले बताए । साथै विगतमा मधेसकेन्दि्रत दलहरुले उठाउँदै आएका मागहरुमा राजपाको अडान यथावत रहेको उनले बताए ।
उनले असार २ गते मनोनयन दर्तालाई अवरोध पुर्याउने गरी लाठी जुलुस र बन्दको आयोजना गरेकोमा उक्त कार्यक्रम असार ४ गते गर्ने गरी सारेको बताए ।
संविधान संशोधनबिना गरिने निर्वाचन बिथोल्ने राजपाकाे उद्घोष
यसैगरी सप्तरीको राजविराजस्थित शहीद दशन चोकमा शुक्रबार अयोजित विरोध सभामा बोल्दै राजपा नेताहरुले संविधान संशोधनबिना जुनसुकै समयमा निर्वाचन गरे पनि बिथोल्ने उद्घोष गरे ।
कार्यक्रममा राजपा नेपालका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवले संविधान संशोधनविना जुनसुकै मितिमा गरिने निर्वाचनलाई बिथोल्ने चेतावनी दिए ।
उनले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने र असार १४ को निर्वाचनलाई अवरोध गर्ने चेतावनी दिए ।
राजपाका अर्का नेता शेखर कुमार सिंहले सरकारले गरेको चुनाव सार्ने निर्णय पूर्वाग्रही एवम् षडयन्त्रपूर्ण रहेकाे बताए ।
यसैगरी राजपाका नेता मनिषकुमार सुमनले सरकारकाे मधेेश विरोधी रणनीतिमा केही मधेशवादी दलहरु नै सामेल भएको बताए ।