२५ मंसिर, चितवन । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन् ।
प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सापकोटाले मधेसी, आदिवासी, थारुलगायतका मागलाई सम्बोधन गर्दै संविधान संशोधन प्रस्ताव पेस गरिएको हुँदा फिर्ता नहुने बताए ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितको सहमतिमा ती समुदायको माग अनुसार संविधान संशोधन गर्न दिएको प्रतिबद्धता अनुसार नै संशोधन प्रस्ताव पेस भएको उनले स्पष्ट पारे ।
५ नं प्रदेशमा भइरहेको आन्दोलनमा बाह्य चलखेल र घुसपैठ भएको हुँदा राष्ट्रवादी नेपाली सचेत हुनुपर्ने भन्दै उनले भारतीय दूतावासले संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै हत्तपत्त प्रतिक्रिया दिएर पार्टीलाई भारतपरस्त जस्तो देखाउने काम भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।