२७ असार ०७४, काठमाडौं । संविधान संशोधनको विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक निस्कर्षबिहीन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारले संविधान संशोधनमा सघाउन राखेको प्रस्तावलाई एमालेले अस्वीकार गरेपछि बैठक निस्कर्षबिहीन भएको हो ।
बैठकमा सरकारले व्यवस्थापिका–संसदमा पेश गरेको संविधान संशोधन विधेयकमा सहमति खोज्न छलफल गरेको थियो ।
राष्ट्रिय जनता पार्टी राजपालाई २ नं. प्रदेशमा बाँकी रहेको निर्वाचनमा सहभागी गराउन र प्रदेश सभा तथा संघीय संसद्को निर्वाचनको सहज वातावरण बनाउन संविधान संशोधन गर्नुपर्ने सत्तारुढ दलका नेताहरुले बताएका थिए । राजपा दोस्रो चरणको निर्वाचनमा सहभागी नभए पनि उसका नेता तथा कार्यकर्ताहरु भने निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएका थिए । तिमध्ये कतिपय विजयी समेत भएका छन् ।
संसद्मा विचाराधीन विधेयकलाई पास गराए २ नं. प्रदेशमा बाँकी रहेको स्थानीय तह निर्वाचन, प्रदेश सभा निर्वाचन र संघीय संसदको निर्वाचनमा सबै दल सहभागी हुने तर्क सत्तारुढ दलहरुले गरेका थिए । तर, प्रतिपक्षी एमालेले भने बाँक सबै खाले निर्वाचन नसकिँदासम्म संशोधन प्रस्ताव स्थगित गर्नुपर्ने भन्दै त्यसपछि मात्र छलफल गर्न सकिने बताए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु सहभागी थिए ।