१२ फागुन ०७४, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डल सदस्य अनिल झाले संविधान संशोधन भए मात्र सरकारमा सहभागी हुने बताएका छन् ।
नेता झाले राजपा र फोरम संविधान संशोधन पक्षधर भएकाले संशोधन भए मात्र सरकारमा सहभागी हुने बताएका हुन् ।
‘संविधान संशोधन भयो भने मात्र हामी सरकारमा जानेबारे सोच्न सक्छौं’ झाले भने, ‘अहिले हामीले सरकारमा सहभागी हुनेबारे केही पनि सोचेका छैनौं ।’
एमाले-माओवादीसँगै राजपा र फोरम मिल्यो भने दुई तिहाई बहुमत पुग्ने र संविधान संशोधन हुने बताउँदै नेता झाले भने, ‘हामी त संशोधनको पक्षधर हौं, तर, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संशोधनको लागि ईच्छुक हुनुहुन्छ कि हुनुहुँदैन ?’