२२ फागुन ०७४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको सरकारलाई संविधान संशोधन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न कांग्रेसले सहयोग गर्ने बताएका छन् ।
मंगलबार संसदको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले संविधान संशोधनका लागि मधेसकेन्द्रित दलहरूसँग छलफल अघि बढाएको कुराले आफू खुसी भएको बताउँदै बैठकमा संविधान संशोधनमा सहयोग गर्न कांग्रेस तयार रहेको बताए ।
देउवाले आफ्नो नेतृत्वको सरकारले संविधान संशोधन विधेयक ल्याउँदा ‘राष्ट्रहीत विपरीत’ भएको भन्दै अवरोध गरेको एमाले हाल संविधान संशोधनमा सकारात्मक बन्नु खुसीको कुरा भएको बताए ।
कांग्रेसको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रिया सम्पन्न हुन बाँकी रहेको बताउँदै सभापति देउवाले त्यसमा आफ्नो दलको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।













