संविधान संशोधन विधेयक दर्ता भारत भ्रमणमा जानु अगावैः प्रचण्ड

७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा जानु अगावै संविधान संशोधन विधेयक संसदमा दर्ता गराउन आफूले चाहेको बताएका छन् । साथै उनले यसबारे भोलिबाटै दलहरुसँँग छलफल थाल्ने जानकारी दिएका छन् ।

सरकारलाई समर्थन गरेको मधेसी मोर्चाले सोमबार मात्र संविधान संशोधनबारे छलफल सुरु नगरेको भन्दै असन्तुष्टि जनाएका थिए । मोर्चाले भारत भ्रमण अघि नै संसदमा संविधान संशोधन विधेयक दर्ता गर्न सरकारसँग माग गरेको थियो ।

प्रधानमन्त्रीले यो सरकारले चुनाव गर्दैैन कि भन्ने शंका नगर्न आग्रह गरेका छन् । चुनाव नगर्ने र मुलुकलाई संवैधानिक राजनीतिक रित्ततामा लैजाने षड्यन्त्र भइरहेको विपक्षी दल एमालेको आरोपप्रति संकेत गर्दै उनले माओवादीका लागि चुनाव अपरिहार्य भएको बताए ।

उनले ‘माओवादीका लागि हिजो संविधान बनाउनु जति महत्वपूर्ण थियो, अहिले चुनाव गराउनु पनि त्यति नै महत्वपूर्ण छ । चुनाव गराउँदैन कि भन्ने शंका नगर्न आग्रह गर्छु ।’

प्रधानमन्त्री प्रचण्डले जिल्ला विकास समितिका इलाकाहरुलाई नै स्थानीय निकाय बनाउँदा उपयुक्त हुने धारणा राखे ।

प्रधानमन्त्री प्रचण्ड असोज ३० गते तीन दिने भारत भ्रमणमा जाने तयारीमा छन् ।

तपाइको मत