२८ मंसिर, गुल्मी । संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि तनावपूर्ण भएको गुल्मी जिल्ला अझै शान्त भएको छैन ।
आज बन्दको चौधौ दिन पनि सदरमुकाम तम्घास पूणरुपले बन्द रहेको छ । प्रदेश नं. ५ का गुल्मी लगायत पाल्पा र अर्घाखाँची जिल्लाहरुलाई ४ नम्बर प्रदेशमा गाभ्ने गरी सरकारले ल्याएको प्रस्ताव विरुद्ध सुरु भएको आन्दोलनले उग्ररुप लिएपछि गुल्मीको जनजीवन निकै प्रभावित भएको छ ।
शिक्षण संस्था कलकारखाना, ठप्प छन् भने छोटो तथा लामो दूरीका यातायात साधनहरु चलेका छैनन् । आन्दोलनकारीहरुले विरोधस्वरुप कालोपट्टी बाँधेर आज बजार परिक्रमा गरिएको संयुक्त आन्दोलन संघर्ष समितिका सदस्य प्रकाश पाण्डेले बताए ।
सोमबार भएको संविधान संशोधनको विरोध कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य चन्द्रभण्डारीले ५ नम्बर प्रदेशलाई तराईबाट छुट्टयाउने प्रयास गरिए आफू बन्दुक बोक्न तयार रहेको बताएका थिए ।
नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीले ५ नं. प्रदेशलाई संशोधनको नाममा तराई केन्द्रित जनताको नाममा कसैले देशी–विदेशी मानिसहरुलाई कार्यकारी बनाउने कुचेष्टा गर्छ भने त्यसको विरुद्धमा जाने बताएका थिए ।
विरोध कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य चन्द्रबहादुर खड्का, नेपाली काँग्रेस पाल्पा जिल्ला सभापति विरबहादुर राना, एमालेका पूर्व अध्यक्ष देवि प्रसाद अर्याल, उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, लगायतले आन्दोलनको पक्षमा बोलेका थिए ।