संसद् स्वतः विघटन हुँदै, आजसम्मका काम : दर्जनौं ऐन-कानुन निर्माण र निर्वाचनको आधार तय

२७ असोज ०७४, काठमाडौं । आज शुक्रबार रूपान्तरित संसदको अन्तिम बैठक बस्दैछ । यो बैठकसँगै भोलि शनिबार नयाँ संविधानको व्यवस्थाअनुसार संसद स्वतः विघटन हुँदैछ ।

संसद्को म्याद आगामी माघ ७ गतेसम्म भए पनि आगामी मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुन गइरहेको र प्रतिनिधि सभा निर्वाचन सदस्य मनोनयनको अघिल्लो दिन संसद स्वतः समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार संसद्को आयु शनिबार समाप्त हुन लागेको हो ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने दिन आइतबार तोकेको छ ।

संविधान सभाबाट २०७२ असोज ३ गते संविधान जारी भएपछि ६ सय १ सदस्यीय संविधानसभा संविधान कार्यान्वयन गर्नु भन्दै संसदमा रूपान्तरण भएको थियो ।

सभामुख ओनसरी घर्ती मगरले आज बस्ने बैठक नै रुपान्तरित संसदको अन्ति बैठक भएको जानकारी दिइन् ।

‘२९ गते मनोनयन हुन्छ भन्ने आधारमा शुक्रबार संसद्को बैठक अन्तिम हो’, सभामुख ओनसरी घर्ती मगरले भनिन्, ‘संविधानले प्रत्यक्ष र समानुपातिक कुनलाई मनोनयन मान्ने भन्ने स्पष्ट गरेको छैन् । तर, प्रत्यक्ष वा समानुपातिकको उम्मेदवारी दिने भनेको दुवै मनोनयन नै भएकाले २९ गतेको मनोनयनका आधारमा संसद्को आयु निर्धारण गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

सभामुख घर्तीले शुक्रबार अन्तिम बैठक भएको जनाउ कार्यव्यवस्था परामर्श समितिको बुधबारको बैठकमा नै दलहरूलाई गराइसकेकी छन् ।

त्यस्तै एमाले प्रमुख सचेतक भानुभक्त ढकालले पनि २९ गते मनोनयनका आधारमा संसद्को शुक्रबारको बैठक अन्तिम हुने बताएका छन् ।

यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले अन्तिम बैठकमा सबैको सहमतिमा अत्यावश्यक विधेयक पारित गर्ने प्रयत्न भइरहेको जानकारी दिए ।

कानुन मन्त्री थापाले भने, ‘शुक्रबार रुपान्तरित संसदको अन्तिम बैठक हो, त्यसअघि सबैको सल्लाहमा कुन–कुन विधेयक कसरी अघि बढाउने भन्ने टुंगो लगाउने छौं ।’

रुपान्तरित संसदले गरेका मुख्य काम

  • रूपान्तरित संसद्को पहिलो अधिवेशन २०७२ असोज १५ गते सुरु
  • असोज २४ गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित
  • असोज २७ मा ओनसरी घर्ती सभामुख निर्वाचित
  • कात्तिक ११ मा विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित
  • कात्तिक १४ मा नन्दबहादुर पुन उपराष्ट्रपति निर्वाचित
  • फागुन १२ मा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता
  • बैशाख १७ मा प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता
  • साउन ७ मा तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध माओवादी केन्द्रद्वारा अविश्वास प्रस्ताव दर्ता
  • साउन १९ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निर्वाचित
  • जेठ २३ मा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित
  • दर्जनौं ऐन-कानुन निर्माण गरी निर्वाचनको आधार तय

तपाइको मत