संसद अवरोध हटाउन सभामुखले बोलाइन् शीर्ष नेताको बैठक

३ पुस, काठमाडौं । संसदको गतिरोध अन्त्यको प्रयासमा सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलको शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरेकी छन् । प्रमुख दलका शीर्ष नेताहरुको बैठक सोमबार बिहान एघार बजे बोलाइएको हो ।

सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अबरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका कारण संशोधन प्रस्ताव संसदको कार्यसूचीमा पर्न सकेको छैन ।

सभामुख घर्तीले यसअघि पनि सहमतिको पहल गर्दै आएकी थिइन् तर दलहरुको आ-आफ्नै अडानका कारण उनको प्रयास सफल हुन सकेको छैन ।

सोमबारको संसद बैठकमा संशोधन प्रस्तावलाई कार्यसूचीमा राख्ने सरकारको तयारी छ । यसअघि मंसिर ३० गतेको बैठकमै संशोधन प्रस्ताव कार्यसूचीमा राख्ने तयारी थियो । तर सहमतिको प्रयास गर्न भन्दै पाँच दिनसम्म बैठक स्थगित गरियो । यद्यपी यसबीचमा दलहरुबीच छलफल भने हुन सकेन ।

यस्तो अवस्थामा सभामुखले आह्वान गरेको शीर्ष बैठकबाट गतिरोध अन्त्य कसरी हुन्छ भन्नेमा भोलिको बैठक महत्वपूर्ण हुनेछ ।

तपाइको मत