काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट कारवाही गरिसकेपछि बसेको नेकपा संसदीय दलको बैठकले बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको छ । दल नेतामा निर्वाचित भइसकेपछि अध्यक्ष प्रचण्डले संसदलाई जिवित राख्न, राष्ट्र र जनताको अपेक्षाअनुसार काम गर्न सबै तागत लगाउने बताएका छन् ।
यसै सेरोफेरोमा नेकपामा विकसित पछिल्लो घटनाक्रमबारे सोही पार्टीका स्थायी समिति सदस्य मातृका प्रसाद यादवसँग हाकाहाकी प्रतिनिधि सोमबहादुर थापाले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश प्रस्तुत छ :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताले पूर्णता नपाउँदै किन विभाजनतिर लाग्यो ?
पूर्वएमाले र पूर्वनेकपा (माओवादी केन्द्र) अलग–अलग हुँदा दुई पार्टी बीच एकता गर्नु पर्दछ भनेर कमरेड अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गर्नुभएको थियो । र, पार्टी एकता पनि भयो । एकतासँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएदेखि उहाँले पार्टी एकतालाई बचाउन हदैसम्मको प्रयासहरू गर्नुभयो । तर, अर्का अध्यक्ष केपी शर्मा ओलीले एकतासँगै अपमान गर्न सुरु गर्नुभयो यद्यपि, अध्यक्ष प्रचण्डले जति नै अपमान गरे पनि पार्टी एकता बचाउन सहनु भयो । उहाँले पार्टी एकता बचोस् भनेर धेरै कुराहरु त्याग गर्नु पनि भयो । तर, अर्का अध्यक्ष केपी शर्मा ओलीको हातमा शासन सत्ता छ, गलत संरचनाहरु निर्माण गर्नुभएको छ, त्यसैको बलमा मनोपली पनि गरिरहनु भएको छ । प्रधानमन्त्री ओली सरकार र पार्टी भन्दा गुट सञ्चालन गर्नतिर लाग्नु भयो, यहीँबाट समस्या सिर्जना भएको हो । तर, नेकपा विभाजनतिर गएको सही होइन, एकढिक्का छ । र, रहन्छ ।
एउटा अध्यक्षले बालुवाटारमा र अर्का अध्यक्षले बबरमहलमा केन्द्रीय समिति बैठक राखिसक्नु भएको छ, यो पार्टी विभाजन होइन् ?
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा गुटको बैठक राख्नुभएको हो नेकपा केन्द्रीय समितिको बैठक होइन । तर, नेकपाको विधानअनुसार पार्टीको बैठक कमरेड अध्यक्ष प्रचण्डको अध्यक्षतामा दुई तिहाईभन्दा बढी केन्द्रीय सहस्यहरुको उपस्थितमा बसेको सही हो । नेकपाको केन्द्रीय समिति बैठकले पार्टी अनुशासनहीन, अराजक, स्वेच्छाचारी, देश र जनाताप्रति जिम्मेवारी बोध नगर्ने प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीलाई कारवाही गरिसकेको छ । साथै, विधानतः पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई रिक्त अध्यक्ष पदमा सर्वसम्मतरुपमा चयन समेत गरेको छ ।
राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गरेको छ, यसलाई कसरी लिनुभएको छ ?
संवैधानिक राष्ट्रपतिद्वारा प्रधानमन्त्रीले लगेको कुनै पनि अध्यादेशलाई स्वीकृत गर्ने कार्य भइरहेको छ । पछिल्लो अध्यादेश जुन आएको छ त्यो संविधानविपरीत छ । संसद विघटन भएको छैन् । हामी अदालत पनि गएका छौं । दुनियाँमा सार्वभौमशक्ति भनेकै जनता हुन् । हाम्रो संसद सार्वभौम जनताका प्रतिनिधि संस्था हो । संसदबाटै राष्ट्रपति, प्रधानमन्त्री चुनिएका हुन्छन् । सार्वभौम जनताका प्रतिनिधिहरुलाई दिएको अधिकारलाई प्रयोग गर्ने थलो संसद नै हो । संसद जिवित छ । संविधानतः प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक छ ।
ओली सरकारमा मन्त्री पनि बन्नुभयो, उहाँको कार्यशैलीलाई नजिकबाट नियाल्दा कस्तो पाउनु भयो ?
उहाँको चिन्तनमै समस्या हो । उहाँको दृष्टिकोण सर्वसत्तावादी छ । स्वेच्छाचारी छ । अराजकतावादी छ । निरंकुश छ । फरक मतलाई पूरै निषेध गर्ने प्रवृत्ति छ । मलाई राम्ररी थाहा छ, उहाँले मन्त्रिपरिषद्मा ल्याउनुभएको कुन प्रस्ताव पास भएन । कुन प्रस्ताव कहाँ, कसले रोक्यो ? पार्टीको सरकार भइसकेपछि पार्टीमा सल्लाह नै गर्नु नपर्ने प्रवृत्ति उहाँमा छ । पछिल्ला केही घटनालाई हेरौं न ! स्थायी समितिको बैठकमा उहाँले अध्यादेश फिर्ता लिने सहमति भएको थियो तर उलंघन गरेको प्रष्ट देखियो नि ! संवैधानिक परिषद् गठनसम्बन्धी संविधनमै जुन व्यवस्था गरिएको छ, त्यो त्यतिकै लेखिएको होइन, पछिल्लो उहाँको कदम पूर्णतः संविधानविपरीत देखियो । उहाँको कदम संविधानलाई उल्ट्याउने किसिमले आइरहेको देखिन्छ । जे भन्नुभएको छ, त्यो आफ्नो कमजोरी र कर्तुत छोप्ने बहानावाजी मात्रै हो ।
म मन्त्री हुँदा मेरो मन्त्रालयको काम उहाँ आफैं गर्नुहुन्थ्यो । यतिसम्म कि नियमावली मन्त्रालयमार्फत् नगएर उहाँ आफैं परिवर्तन गर्नुहुन्थ्यो । ती काम भ्रष्ट व्यक्तिहरुका निमित्त हुने गरी गर्नुहुन्थ्यो । विधि पद्धतिअनुसार गर्ने हो भने त उहाँले मन्त्रीलाई भन्ने, मन्त्रीले सचिवलाई भन्ने, सचिवले प्रस्ताव उठाएर ल्याउने हो । तर, उहाँ सोझै आफैँ काम गर्नुहुन्थ्यो । मैले मन्त्री हुँदा पनि सार्वजनिकरुपमै पनि बोलें, ‘मेरो मन्त्रालय कसले चलाएको छ, म मन्त्री हुँ कि होइन भनेर !’ यसैगरी उहाँले मन्त्रिपरिषद् बैठकको निर्णय भनेर जुन कुरा सरकारको प्रवक्तामार्फत् सार्वजनिक गर्नुहुन्थ्यो, त्यो प्रस्ताव बैठकमा नै आएको हुँदैन्थ्यो । मैले स्थायी समिति बैठकमा पनि भनेँ, ‘यो नेकपाको सरकार होकी, केपी ओलीको सरकार हो ?’ कतिपय नेताहरु भन्छन्, “त्यो प्रधानमन्त्रीको अधिकार क्षेत्र हो । तर, पार्टीबाट सरकारमा ‘को’ जाने आउने भन्ने कुरा पार्टीको मामिला न हो । कतिपय साथीहरुका कुराले पनि उनलाई सनक चढाइदिएको देखिन्छ । अहिले संसद विघटनको अध्यादेश ल्याएको कुरा क्याविनेटका कुन मन्त्रीलाई थाहा थियो ?”
मेरो भनाई के हो भने, “प्रधानमन्त्री नायक हो तर सबै चीज होइन् । टिममा हिँड्नु पर्छ । उहाँलाई के परेको छ भने, ‘जे भन्छु, त्यो नै सबै चीज हो ।’ म जस्तो सर्वज्ञाता नेपालमा कोही छैन् । म जे गरिरहेको छु ठिक गरिरहेको छु । आकाशै मैले थामिरहेको छु । म बिना देश एक कदम पनि अघि बढ्न सक्दैन भन्ने उहाँलाई परेको छ । समस्या चिन्तनमा हो । उहाँको दृष्टिकोण सर्वसत्तावादी छ । स्वेच्छाचारी छ । अराजकतावादी छ । निरंकुश छ । फरक मतलाई पूरै निषेध गर्ने प्रवृत्ति छ । तर हाम्रो विधानले फरक मतलाई सम्मान गर्ने, बहुमतको निर्णय मान्ने भन्ने छ ।”
पार्टी एकता नटुङ्गिदै यतिचाँडो यस अवस्था आउँछ भन्ने लागेको थियो ?
यो हुनु नै थियो । आजको दिन आउनु नै थियो । मलाई कुनै आश्चर्य लागेको छैन् । उहाँ (केपी शर्मा ओली) कहिल्यै पनि सहमति, समझदारीलाई पालना गर्ने व्यक्ति नै होइन् । मधेशमा एउटा भनाई छ, ‘सके जुँघा उखेल्ने, नसके पाउ पर्ने ।’ ओलीमा पनि यस्तो प्रवृत्ति छ, आफूलाई अप्ठ्यारो नपर्दासम्म पार्टी बैठकमै नआउने जब अप्ठ्यारो पर्छ आउने । उहाँले सुरुदेखि नै पार्टी एकता स्वीकार गरेकै होइन, एकताको पक्षमा एकरत्ति थिएन भन्ने स्पष्टै छ साथै उहाँले संविधानलाई मान्नु भएकै होइन् । एकता र संविधानलाई मान्नुको मुख्य कारण प्रधानमन्त्री बन्नका लागि मात्रै थियो भन्ने घटनाक्रमले पुष्टि गरेको छ ।
प्रधानमन्त्री ओली राष्ट्रवादी नेता हुन् नि होइन र ?
राष्ट्रवादी र देशभक्त भन्नु फरक कुरा हो । उहाँ मण्डले राष्ट्रवादी हो । महेन्द्रलाई पनि केही मान्छेहरु राष्ट्रवादी भन्छन् नि ! जनतामाथि दमन गर्ने कहिल्यै पनि देशभक्त हुनसक्दैन । कसैको विरोध गरेर प्रधानमन्त्री बन्ने अनि कसैको दलाली गरेर प्रधानमन्त्रीमा टिकिरहने उहाँको मूल प्रवृत्ति हो । बाह्य शक्तिको विरोध गरेर जनमत बटुल्ने, तिनै शक्तिको दलाली गरेर सत्ता टिकिरहने ? बाहिर देखिँदा विरोध गर्ने तर भित्रभित्र दलाली गर्ने पनि देशभक्त, राष्ट्रवादी हुन्छ ?
बदलिँदो परिस्थितिमा नेकपा कसरी अघि बढ्छ ?
पार्टी केन्द्रीय समितिको बैठकले केपी शर्मा ओलीलाई पार्टीविरोधी, देशविरोधी, एकताविरोधी क्रियाकलाप गरेकाले पार्टी अध्यक्षका लागि लायक छैन भनेर कारवाही गरिसकेको छ । उहाँको ठाउँमा बरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष चयन गरिएको छ । बैठकले पूर्वसभामुख कृष्ण बहादुर महरालाई स्थायी समितिमा ल्याएको छ । यस्तै संसद विघटन गरिएकाले त्यसको पुनस्र्थापनाका लागि आवश्यक कदम चाल्ने निर्णय भएको छ । अब बस्ने केन्द्रीय समिति बैठकले आगामी ठोस कार्यक्रम बनाएर अघि बढ्छ ।