१९ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ओली समूह)का अध्यक्ष खड्ग प्रसाद ओलीले प्रतिनिधिसभा पुनर्स्थापना सम्भव नरहेको बताएका छन् ।
शनिबार ओली समूहले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै काम चलाउ सरकारका प्रधानमन्त्री समेत रहेका ओलीले देशलाई चक्रव्यूहमा फस्न नदिन प्रतिनिधिसभा विघटन गरिएको र सोको पुनर्स्थापना सम्भव नरहेको बताएका हुन् ।
“प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटनको सिफारिस गरिएको हो, संसद पुनःस्थापना सम्भव छैन्” उनले भने, “यस वर्ष समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थकतातिर गइसकेको हुनेछ, एउटा टर्निङ प्वाइन्टको रुपमा हामी यो वर्षभित्र पुगिसकेका हुनेछौं ।”
प्रधानमन्त्री ओलीले आफू आफ्ना छोरा–बुहारी, भाइ–भतिजाका लागि नभएर देश र जनताका लागि लडिरहेको पनि बताए ।
“हामी आफ्ना छोरा बुहारी, भाइ भतिजाका लागि लडिरहेका छैनौं,” उनले भने, “देश र जनताका लागि लडिरहेका हौं ।”
कार्यक्रम अवधिभर मूलत : प्रचण्ड-माधव समूहको आलोचनामा खर्चिएका ओलीले गरिखाने मजदुरको उदाहरण दिँदै आम श्रमजीवी मजदुरको सम्मानमा आघात हुने गरी प्रचण्ड–माधव समूहको अवस्था अब रत्नपार्क वरिपरि सीसीमा तेल बेच्नेको जस्तै हुने बताए ।