२१ बैशाख ०७४, काठमाडौं । नेकपा एमालेले महाअभियोगलाई लिएर संसदको बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि व्यवस्थापिका संसद बैठक सूचना टांसेर स्थगित भएको छ ।
बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा एमाले अध्यक्ष केपी ओलीले महाअभियोग फिर्ता लिन आग्रह गरेको तर प्रधानमन्त्रीले ओलीको प्रस्ताव अस्वीकार गरेपछि एमालेले महाअभियोग फिर्ता लिन वा संसदको प्रक्रियामा लगेर ४-५ दिनमा नै टुंगो लगाउन माग गरेको छ । अन्यथा संसद बैठक अवरुद्ध गर्ने एमालेको चेतावनी थियो ।
एमालेको चेतावनीपछि दलहरुबीच सहमति जुटेन र सभामुख ओनसरी घर्ती मगरले राजनीतिक सहमतिका लागि भन्दै सूचना टाँसेर संसद बैठक स्थगित गरिन् ।