संसद विघटनको सर्वत्र समर्थन भइरहेको ओली समूहका नेता थापाको दावी

१८ पुस ०७७, काठमाडौं । काम चलाउ सरकारका प्रधानमन्त्री खड्ग प्रसाद ओली समूहका नेता रामबहादुर थापाले आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक ‘कू’ गर्न खोजेपछि संसद विघटन भएको बताएका छन् ।

गृहमन्त्री समेत रहेका नेता थापाले ओली समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने राजनीतिक कदम चालेको बताएका हुन् ।

संसद विघटनको सर्वत्र समर्थन भइरहेको भन्दै उनले आफूहरुको एजेण्डा, विचार, सिद्धान्त र नेतृत्व सही रहेको बताए ।

यस्तै विचार, सिद्धान्तमा नभएर पदीय महत्वकांक्षाका कारण एउटा गुट अलग भएको भन्दै उनले चुनावमा गएर प्रतिगमनकारीहरुलाई भण्डाफोर गर्नुपर्ने बताए ।